रोकिएन घरमै सुत्केरी हुने चलन : ११ महिनामा ४३ बच्चा घरमै जन्मिए

Sayalb

३० असार, डोटी । सरकारले पूर्ण संस्थागत सुत्केरी (स्वास्थ्य संस्थामै गएर बच्चा जन्माउने) का लागि बिभिन्न प्रयासहरु गरेको भएपनि डोटी जिल्लामा घरमै सुत्केरी हुने चलन रोकिएन । चालु आर्थिक बर्षको ११ महिनामा ४३ जना महिलाले घरमै बच्चा जन्माएकी छन् ।
स्वास्थ्य कार्यालय, डोटीले दिएको जानकारी अनुसार चालु आर्थिक बर्ष (२०८२÷०८३) को श्रावणदेखि जेठ महिनासम्म ४३ जना महिलाहरु घरमै सुत्केरी भएका हुन् । ‘जिल्लाका नौ पालिकामध्ये सवैभन्दा बढी घरमै सुत्केरी हुने समस्या पूर्वीचौकी गाउँपालिकामा देखियो’ कार्यालयका सूचना अधिकारी कपिलदेव जोशीले भने ‘यस पालिकामा सो अवधीमा नौ जना महिलाहरुले घरमै बच्चा जन्माएकी छन् ।’ ७ नं. वडामा आठ जना र २ नं. वडामा एक जनाले घरमै बच्चा जन्माएको सूचना अधिकारी जोशीले जानकारी दिए ।
यस्तै, आदर्श गाउँपालिकामा आठ, बडीकेदार गाउँपालिकामा आठ, सायल गाउँपालिकामा ६, दिपायल सिलगढी नगरपालिकामा चार, बोगटान फुड्सिल गाउँपालिकामा तीन, जोरायल र के आई सिंह गाउँपालिकामा दुई÷दुई र शिखर नगरपालिकामा एक जनाले घरमै बच्चा जन्माएको कार्यालयको तथ्याङ्कमा छ ।
स्वास्थ्य संस्थाहरु हुँदाहुँदै पनि घरमै किन सुत्केरी हुँदैछन् भन्ने बिषयमा बार्षिक समिक्षा कार्यक्रममा पालिका तहका स्वास्थ्य शाखा प्रमुखहरुसंग बसेर छलफल गरिने कार्यालय प्रमुख डिल्लीरमण जोशीले वताए । ‘जिल्ला सदरमुकाम समेत रहेको दिपायल सिलगढी नगरपालिकामै चार जना महिलाले घरमै बच्चा जन्माएका छन्’ कार्यालयले आयोजना गरेको सञ्चारकर्मीहरुसंगको अन्तरक्रिया कार्यक्रममा जोशीले भने ‘यस नगरपालिकाभित्रै जिल्ला अस्पताल छ, तीनवटा नीजि अस्पताल छन्, सात ठाउँमा प्रसुति गृहहरु पनि छन्, तर पनि घरमै बच्चा जन्माउँछन् ।’
घरमै प्रसुति हुँदा आमा र बच्चाको ज्यान जोखिममा हुने भएकाले सरकारले स्वास्थ्य संस्थामै सुत्केरी गराउने व्यवस्था गरेको जोशीले वताए ।
मापदण्ड अनुसार नियमित गर्भ जाँच गराउने महिलाहरुको संख्या पनि थोरै रहेको सूचना अधिकारी जोशीले वताए । उनका अनुसार नयाँ मापदण्ड अनुसार आठ पटक गर्भ जाँच गराउनु पर्नेमा ४२ प्रतिशत मात्रै जाँच गराएका छन् । यस्तै प्रसुति पश्चात मापदण्ड अनुसार चार पटक जाँच गराउने महिलाहरु ४४ प्रतिशत मात्रै रहेका छन् ।

Shaileshwori
Loading...