बोकाको मृत्युपछि उत्पन्न बिवादले गयो अमृताको ज्यान

Sayalb

२९ साउन, डोटी । गत साउन १३ गते डोटी जिल्लाको जोरायल गाउँपालिका–४, देउथलाकी ४६ बर्षीया अमृता ओलीको आफ्नै श्रीमान् चन्द्र बहादुर ओलीको कुटाईबाट ज्यान गयो । प्रहरीका अनुसार अत्याधिक मदिरा सेवन गरेका चन्द्रवहादुरले धारिलो हतियार चिम्टा प्रहार गरी अमृताको ज्यान लिए ।
जोरायल–४ का वडाध्यक्ष नन्दराज भट्टका अनुसार ५१ बर्षीय चन्द्रवहादुर सोही वडाको छेपण्डास्थित जगदम्वा आधारभूत बिद्यालयका शिक्षक हुन् । उनी प्राथमिक तहको राहात दरवन्दीमा कार्यरत छन् । घटनापछि प्रहरीले चन्द्रवहादुरलाई नियन्त्रणमा लिई घटनाको अनुसन्धान गरिरहेको छ ।
स्थानीयबासीहरुका अनुसार चन्द्रवहादुरले मदिरा सेवन गरी श्रीमती अमृतालाई सधैं कुटपिट गर्ने गर्थे । ‘उहाँ (चन्द्रवहादुर) बिद्यालयलमा पढाउनु हुन्थ्यो, उतै डेरा गरेर बस्नु हुन्थ्यो’ स्थानीय एक महिलाले भनिन् ‘शुक्रवार वा बिदाको समयमा घर आउनु हुन्थ्यो, घर आएपछि सधैं झगडा गर्नु हुन्थ्यो ।’ घटनाको दिन बोकाको मृत्यु मुख्य कारण भएको उनी बताउँछिन् । ‘अघिल्लो दिन (साउन १२ गते) घरमा भएका तीनवटा बोकालाई खसी वनाईएको रहेछ, सोमध्ये एक बोका मरेछ’ उनले थपिन् ‘खसी बनाउनलाई अमृताले भनेकी रहिछन्, त्यसैमा निहुँ खोजेर झगडा भएछ ।’ त्यही बोकाको मासु पकाएर खाना खाने बेलामा बिवाद बल्झिएको र अमृताको ज्यान गएको उनको भनाई छ ।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक रणवहादुर चन्दका अनुसार पनि झगडाको मुख्य कारण बोकाको मृत्युनै भएको देखिन्छ । ‘अभियुक्त चन्द्रवहादुरले सधैं रक्सी खाएर झगडा गरिरहने रहेछन्, त्यो दिन बोका मरेको बिषयलाई लिएर बिवाद सुरु भएको रहेछ’ चन्दले भने ‘नसामा भएका बेला उनले चिम्टा प्रहार गरेका रहेछन् ।’
अमृताका एक आफन्तका अनुसार खाना खाने बेलामा झगडा भएको थियो । ‘सानो छोरा पनि संगै रहेछ, उसलाई पनि पिटेपछि उ भित्र गएछ’ उनले भने ‘त्यसपछि झन आवेगमा आएर चिम्टा प्रहार गरेछन् ।’ उनका अनुसार मदिरा सेवन नगरेका बेला चन्द्रवहादुर शान्त स्वभावका छन्, तर मदिरा सेवन गरेपछि श्रीमतीसंग सधैं झगडा गर्थे ।
घटना भएको दिन बिहान अमृता किसान सहकारी संस्थाको बैठक सकाएर आएकी थिईन् । उनीसंगै बैठकबाट फर्केकी एक महिलाका अनुसार चन्द्रवहादुर र अमृताकाबीच अघिल्लो दिन पनि झगडा भएको थियो । ‘अमृता यति सहनशील थिईन् कि उनले घरको कुरा हत्तै कसैलाई सुनाउँदैन थिईन्’ ति महिलाले भनिन् ‘अतिनै दुःख भएपछि मिल्ने साथीसंग कुरा खोल्थिन् र बेस्सरी रुन्थिन् ।’ बैठकबाट बाटोमा आउँदा पनि उनले पीडा पोखेको ति महिलाको भनाई छ । ‘घरमा श्रीमान् छन्, फेरी झगडा पो हुने हो कि !’ बाटोमा आउँदा अमृताले भनेको कुरा सम्झिन्छिन् उनी ।
घटना भईसकेपछि त्यहा पुग्ने मान्छे का अनुसार दुईवटा थालमा पस्किएको थियो । यसको अर्थ उनीहरु खाना खानका लागि ठिक्क परेका थिए । स्थानीय महिलाका अनुसार उनीहरुको झगडा बढी जसो खाना खने बेलानै हुन्थ्यो । अमृताले खाना खाने बेलामै श्रीमानले बढी निहुँ खोज्छन् भन्ने गरेको महिलाहरु बताउँछन् ।
‘बिहान हामी सहकारीको बैठकमा संगै थियौ, साँझ त यस्तो घटना भएको खवर सुन्नु प¥यो । कस्तो दुःखद् घटना भयो ।’ एक महिलाले सुनाईन् ।
श्रीमानको चिम्टा प्रहारबाट पेटको वाँया भागमा चोट लागी गम्भीर घाईते भएकी अमृतालाई उपचारको लागी स्थानीय स्वास्थ्य संस्थामा लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि उनलाई थप उपचारका सेती प्रादेशिक अस्पताल, धनगढी लगिएको थियो । तर, अस्पताल पुग्ने बित्तिकै चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेका थिए ।
प्रहरी नायव उपरीक्षक चन्दका अनुसार चन्द्रबहादुर बिरुद्ध ज्यान सम्वन्धी कसुर (कर्तव्य ज्यान) शिर्षकमा मुद्धा गर्दा भई अनुसन्धान भईरहेको छ ।
चन्द्रवहादुर र अमृताका चार छोरी र दुई छोरा छन् । तीन छोरीको बिवाह भईसकेको छ । घटनापछि रोजगारीका लागि कोरियामा रहेका जेठा छोरा घर आएका छन् । कान्छा छोरा र छोरी अध्ययनरत छन् ।

Shaileshwori
Bolpatra
Loading...