
३ भाद्र, डोटी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले आज (बुधवार) प्रदेशसभामा विश्वासको मत लिने तयारी गरेका छन् । आफ्नै पार्टीभित्र मन्त्रीहरु छान्न सहमति नजुटेपछि उनले पहिलो बिश्वासको मत लिने निर्णय लिएका हुन् ।
भट्टले मंगलवार दिउसो नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसदहरुसंग छलफल गरी विश्वासको मत लिने निर्णय लिएका हुन् । यसअघि उनले नेकपा सुदूरपश्चिम इन्चार्ज भानुभक्त जैशी र प्रदेश कमिटी संयोजक हरि चौधरी, नेतृ रञ्जिता श्रेष्ठ लगायतसंग पनि यस बिषयमा छलफल गरेका थिए ।

मुख्यमन्त्रीले बिश्वासको मत लिने प्रयोजनका लागि बुधवार दिउसो १ वजेका लागि प्रदेश सभाको बैठक अह्रवान गर्न समेत मुख्यमन्त्रीले माग गरेका छन् । प्रदेश सभामा बिश्वासको मत लिएपछि मन्त्रीमण्डल बिस्तार गर्ने उनको योजना छ ।
नेकपाबाट सहभागी सरकारमा सहभागी हुने मन्त्रीहरुको नाममा सहमति जुट्न नसकेपछि भट्टले पहिले बिश्वासको मत लिने निर्णय गरेका हुन् । नेकपाको तर्फबाट सरकारमा तीन मन्त्री र दुई राज्यमन्त्री नियुक्त गर्ने तयारी छ । हाल मन्त्रीमणडलमा मुख्यमन्त्री र नेकपा एमालेका तर्फबाट तीन मन्त्री तथा एक राज्यमन्त्री छन् ।

