जुवाखालबाट तीन वडाध्यक्षसहित चारजना पक्राउ
तेह्रथुममा कार्यालय समयमै जुवा खेलिरहेका तीन वडाध्यक्षसहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले म्याङलुङ नगरपालिका– ६ का अध्यक्ष इन्द्रराज लिम्बू, वडा नं. ७ का अध्यक्ष नारायणप्रसाद आचार्य, वडा नं. ८ का अध्यक्ष सुनिल तुम्बाहाम्फे र स्थानीय भीमबहादुर लिम्बूलाई एक लाख रुपैयाँसहित जुवाखालबाट पक्राउ गरेको हो ।
उनीहरूविरुद्ध बुधबार जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।
मंगलबार जिरिखिम्तीको एक होटेलमा जुवा खेलिरहेको भन्ने गोप्य सूचना पाउनासाथ जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कोमल ठाकुर नेतृत्वको प्रहरी टोलीले दिउँसो तीन बजे छापा मारेको थियो । स्राेतका अनुसार सो ठाउँमा नियमित जुवा खेल्ने गरेको सूचना प्रहरीलाई पुगेको थियो ।
जुवा खालबाट मोटो रकम बोकेका व्यक्ति भने फरार भएका छन् । उनीहरूविरुद्ध मुलुकी फौजदारी आचारसंहिताअनुसार मुद्दा दर्ता गरी अघि बढाएको प्रहरीले जनाएको छ ।