बैतडी बस दुर्घटना अपडेट : मृतक ९ मध्ये ७ जनाको पहिचान
बैतडीः— बैतडीको पाटन नगरपालिका वडा नम्बर ८ को खोड्पेमा भएको बस दुर्घटनामा परी मृत्यु भएका ९ जनामध्ये ७ जनाको सनाखत भएको छ । अहिलेसम्म आफन्तले हुलियाको आधारमा ७ जनाको पहिचान गरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीका अनुसार दुर्घटनामा मृत्यु भएकामध्ये सनाखत हुनेमा बैतडीको दोगडाकेदार गाउँपालिका ६ का रणबहादुर चन्द, सोही ठाउँका करणसिंह ऐरी र कविन्द्र जोशी रहेका छन् । यस्तै डिलाशैनी गाउँपालिका ७ घर भई हाल कञ्चनपुरको भीमदत्त नगरपालिका १० बस्ने विजना धामी, दार्चुलाको मालिकार्जुन गाउँपालिका ५ का जगन्नाथ ओझा, दार्चुलाकै तर्कराज गिरी र कञ्चनपुरको भीमदत्त नगरपालिका ८ की किर्तीका कार्कीको पनि सनाखत भएको प्रहरीले जनाएको छ ।
मृतक चन्द र ऐरको घटनास्थलमै मृत्यु भएको हो भने कार्कीको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। ऐरको शब बसले च्यापिएकोले निकाल्ने काम भइरहेको प्रहरीले जनाएको छ। अन्य ६ जना मृतकको पहिचान हुन सकेको छैन। उनीहरुको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ।
सो दुर्घटनामा परी घाइते भएका ३४ जना मध्ये गम्भीर घाइते ८ जनालाई धनगढी रेफर गरिएको छ भने बाँकी २६ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ।
बैतडीको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको पवनदुत यातायातको ना ५ ख ५१४१ नम्बरको बस बिहीबार राती साढे १० बजेतिर दुर्घटनामा परेको हो।
सानो घुम्तीबाट बस ६ सयमिटर जति तल खसको थियो । दुर्घटनाको कारण भने अहिले सम्म खुल्न सकेको छैन्। ।