बैतडी पहिलो पटक स्वास्थ्यकर्मीमा कोरोना पुष्टि


बैतडी: जिल्लाको पुर्चौंडी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विनोदकुमार कुँवरलाई कोरोना पुष्टि भएको हो। साथै स्वास्थ्यकर्र्मी सहित रहेकी उनकी श्रीमती रेवती कुँवर र पुर्चौडी नगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत कार्यालय सहयोगी सुरेन्द्रबहादुर बोहरामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
गएको कात्तिक दोश्रो हप्ताबाटै स्वास्थ्यमा समस्या आएको र मंसिर २ गते स्वाब संकलन गरेर कोरोना परीक्षण गर्दा शुक्रबार कोरोना पुष्टि भएको स्वास्थ्य शाखा प्रमुख कुँवरले जानकारी दिए।
डडेल्धुरा अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा ती व्यक्तिहरुमा कोरोना पुष्टि भएको हो। पहिलो पटक स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि कोरोना उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुलाई थप सजग भएर काम गर्न आग्रह गरिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए । शुक्रबार थप तीन जनामा कोरोना पुष्टि भएसँगै बैतडीमा संक्रमित संख्या ५ सय ३ पुगेको छ। ५ सय ३ जना संक्रमितमध्ये ४ सय ८२ जनाले कोरोना जितेका छन् भने एक जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ ।
यसैबीच पुचौडी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विनोदकुमार कुँवरलाई कोरोना पुष्टि भएपछि उनले आफ्ना सम्पर्कमा रहेका सबैलाई सजग रहन आग्रह गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत आफूमा कोरोना पुष्टि भएको जानकारी गराउँदै उनले आफ्नो सम्पर्कमा रहेका सबैलाई सजकता अपनाउन र कोरोना परीक्षण गर्न आग्रह गरेका हुन्।
