बैतडीमा किशोरीमाथि बलात्कार भएको घटनामा मिलापत्र, किशोरीको इज्जतको मोल १ तोला सुन
६ महिनापछि बाहिरियो बलात्कारको घटना

बैतडी: बैतडीको सिगास गाउँपालिकाकी एक किशोरीमाथि बलात्कार भएको घटनामा मिलापत्र गराइएको पाइएको छ। गत जेठ २३ मा गाउँपालिकाको वडा नम्बर ३ का दिपक सिँंह धामीले आफुमाथि बलात्कार गरेको ती १८ वर्षीया किशोरीले आरोप लगाएकी छिन्।

‘म बिहान पानी भर्न गएका बेला दिपकले मलाई जबरजस्ती गरेका थिए। पछि गाउँमा कागजात बनाएर मलाई १ तोला सुन दिन्छु भन्दै जबरजस्ती औंठा छाप लगाउन लगाइयो’ दिनेश खबरमा लेखिएको छ ।
प्रहरी समेतले गाउँमै मुद्धा मिलाउन सुझाव दिएको आरोप लगाउदै उनले गाउँका अगुवा राजेन्द्रसिंह धामी, मनोज सिंह धामी, अमरसिंह धामी, नरेन्द्र धामी र गोपाल धामीले तमसुक बनाएको बताइन।
‘मेरो घरकालाई वास्तै छैन, बुवा र दाई सोझा छन्। मलाई सबै मिलेर असारभित्र सुन दिन्छ भनेर जबरजस्ती तमसुकमा औंठा छाप लगाउन लगाएका थिए। तर अहिले सुन दिएनन् उल्टै धम्की दिइरहेका छन्’ उनले भनीन।
तमसुकमा बलात्कार लेख्न नमिल्ने भन्दै झै–झगडा भनेर उल्लेख गरिएको उनले बताइन।
अहिले तमसुक अनुसार पीडक पक्षले १ तोला सुन नदिएपछि घटना बाहिरिएको छ। पीडक दिपकसिह धामीलाई गाउँलेले भारत भगाइसकेको किशोरीले यो कुरा बताएकी छन् ।
बुधबार पीडित किशोरीसहित उनका आफन्त बैतडी सदरमुकाम पुगेका छन्। ती किशोरीका अनुसार बिहीबार प्रहरीमा उजुरी दर्ता गरिने छ।
उता जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले घटना सम्बन्धी जानकारी पाइसकेको र उजुरीको पर्खाइमा रहेको बताए। ‘मैखिक उजुरी आइसकेको छ। मैलै पीडितलाई बोलाएको छु। उजुरी आएपछि अनुसन्धान थाल्नेछु’ उनले भने।
काठमाडौँमा संघीय सरकारले बलात्कारका घटनामा मिलापत्र गराउने जोकोहीलाई ३ वर्ष कैद वा ३० हजार जरिवाना वा दुबै सजाय हुने व्यवस्था गरिएको अध्यादेश अघि बढाएको खबर सार्वजनिक भएलगत्तै पछिल्लो घटना सार्वजनिक भएको छ ।
