बैतडीमा युवती बलात्कार गर्नेसहित मिलापत्र गराउने ४ जना विरुद्ध जाहेरी, २ जना पक्राउ
डोटी: सोह् दिने महिला हिंसा चलिरहेको बेला सुदुरपश्चिम प्रदेशमा भने महिला हिंसाका घटना पछिल्लो समयमा दिन प्रतिदिन बढिरहेका छन् । उता बैतडीमा युवतीमाथि जबरजस्तीकरणी गर्ने युवक सहित मिलापत्र गराउने ४ जना विरुद्ध जाहेरी दर्ता गरिएको छ।
बिहीबार पीडित युवतीले जबरजस्तीकरणी गर्ने युवकसहित घटना गाउँमै मिलापत्र गराउँने ४ जना विरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गराएकी हुन्।
बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले पीडित युवतीले जबरजस्तीकरणी गर्ने युवकसहित घटना गाउँमै मिलाउँने विरुद्ध जाहेरी दिएको बताए।
जाहेरी दिएलगत्तै घटना मिलापत्र गर्ने २ जनालाई पक्राउ गरिएको बताउँदै प्रहरी नायब उपरीक्षक अधिकारीले बलात्कारका आरोपी युवक सहितका अन्य २ जना भने फरार रहेकाले खोजी भइरहेको उनले बताए।
बैतडीको सिगास गाउँपालिका वडा नम्बर ३ मा १८ वर्षीया युवतीमाथि गत जेठ २३ गते जबरजस्तीकरणी गरिएको थियो। सो घटनालाई गाउँमै मिलापत्र गराउँदै अगुवाहरुले पीडक पक्षले युवतीलाई १ तोला सुन दिने सहमती गरेका थिए। तर पीडकले सुन नदिएपछि घटना बाहिरिएको थियो।