झिमेमालिका माविका छात्राहरुमा विभिन्न स्वास्थ्य समस्या देखिन थाल्यो
किरण धामी/ डोटी
डोटीको के.आई.सिंह गाउँपालिमा रहेको झिमेमालिका माद्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीमा टाउको दुख्ने, रिङ्गठा लाग्ने, बेहोस हुने लगायतका लक्षण देखिन थालेका छन् । यस्ता किसिमका समस्या देखिनेमा कक्षा ६ देखि कक्षा ८ मा अध्ययनरत छात्राहरु रहेको विद्यालयले बताएको छ । विद्यार्थीहरुमा विभिन्न स्वास्थ्य समस्या देखिन थालेपछि पठनपाठनमा समस्या हुन थालेको विद्यालयका प्रधानाध्यापक नर बहादुर कार्कीले बताउनु भएको छ । प्रधानाध्यापक कार्कीका अनुसार विद्यालयमा उक्त समस्या उत्पन्न भएको करिव एक महिना भईसकेको छ । विद्यार्थीहरुमा दैनिक उक्त स्वास्थ्य समस्या देखिन थालेपछि विद्यालयले विद्यालयमा एक स्टाप नर्स राखेको छ ।
उनिहरुमा माक्स कल्भल्जन डिस अर्डर जस्तो समस्या देखिन थालेको दुर्गामाण्डौ स्वास्थ्य चौकी वायलका स्वास्थ्य चौकी प्रमुख भिष्मराज पाण्डेले बताउनु भयो । यो मानसिक रोग भएकाले उनिहरुलाई सान्त्वनाको जरुरत रहेको प्रमुख पाण्डेले बताउनु भयो । विद्यार्थीको मनोबल बढाउन सके समस्याको समधान हुने पाण्डेले बताउनु भयो ।
उक्त समस्या देखिएका केही विद्यार्थीहरुलाई अभिभावकको सल्लाहमा विद्यालयले एक हप्ताको विदा दिएको छ । विद्यालय गएपछि उक्त समस्या देखिने गरेको भए पनि घर फर्केपछि आफुहरु पुर्ण स्वस्थ हुने गरेको विद्यार्थीले बताएका छन् । विद्यार्थीहरुको मनोवल बढाउनको लागि विद्यालयले गाउँपालिकासंगको सहकार्यमा कालिका मन्दिरमा पुजापाठ पनि गरेको थियो ।