१११ औँ अन्तर्राष्ट्रिय महिला दिवस दिपायल सिलगढी नगरपालिकाले पनि मनायो

किरण धामी /डोटी
महिलाको सुरक्षा, सम्मान र रोजगारः समृद्ध नेपालको आधार भन्ने मुल आसायका साथ डोटीमा पनि विभिन्न कार्यक्रम गरि १११ औं अन्तर्राष्ट्रिय महिला दिवस मनाईएको छ । दिपायल सिलगढी नगरपालिका वडा नम्बर ६ को टुडीखेलमा दिपायल सिलगढी नगरपालिकाले पनि महिला दिवस मनाएको छ । नगर प्रमुख मञ्जु मलासीको अध्यक्षतामा सुरु भएको कार्यक्रमको प्रमुख अथितिमा जिल्ला समन्वय समिति डोटीका उपप्रमुख शशी सोव, विशिष्ट अथितिमा सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशी रहनु भएको थियोे । त्यस्तै अथितिमा नेकपाका जिल्ला अध्यक्ष चक्र मल्ल लगाय विभिन्न संघसंस्थाका प्रमुख तथा पदाधिकारी रहनु भएको थियो ।
कार्यक्रममा महिला हिंसा सम्बन्धि सडक नाटक, बलात्कार सम्बन्धि नाटक लगायतका प्रस्तुति प्रस्तुत गरिएको थियोे । जिल्लामा महिलाको हकहितमा काम गर्ने विभिन्न व्यक्तिलाई सम्मान पनि गरिएको थियो । महिलाहरुले विभिन्न खालका हिंसा भोगिरहेको सन्दर्भ जोड्दै हिंसाको नाममा कसैले पाँच औँला उठाए महिलाहरुलाई दस औँला उठाँउन कार्यक्रमको समापनका क्रममा बोल्दै नगर प्रमुख मञ्जु मलासीले बताउनु भयो । साथै महिलाहरुले अवसर खोज्न नगरपालिका पुग्न पनि अनुरोध गर्नु भयो । घरमा हिंसा भोगिरहेको भए त्यसलाई नलुकाई सम्बन्धित निकायलाई जानकारी दिनुपर्ने पनि उहाँले बताउनु भयो ।

महिलाले वर्षको ३ सय ६५ दिन नै आफ्नो हक अधिकारको लागि लड्नु पर्ने दिवसको अवसरमा बोल्दै महिला अधिकारकर्मीहरुले बताए । कार्यक्रमलाई ईडिसी, डिसिए, ईन्सेक, एक्सन एड नेपाल, सुआहारा, सोर्स नेपाल, सिड नेपाल, आईपास नेपाल लगायतका संस्थाले सहयोग गरेका थिए । कार्यक्रमको सञ्चालन नगर स्तरी मेलमिलाप संयोजक गिता नेपालिले गर्नु भएको थियो ।
साथै महिला माथि हुने विभिन्न हिंसा कम हुनु पर्ने र न्यायपुर्ण समाज निर्माणमा नेपाल सरकार र मातहतका निकायको जवाफदेहिता र प्रतिवद्धताका निम्ति गृह मन्त्रालयलाई सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशी मार्फत विभिन्न संघसस्थाले ज्ञापन पत्र बुझाएका छन् ।
