डोटीको बोगटान फुडसिल गाउँपालिको केन्द्रलाई कालोपत्रे सडकसँग जोड्न सम्झौता
अब गाउँपालिकाको दुईतिरबाट कालोपत्रे सडक

धनगढी – डोटीको बोगटान फुडसिल गाउँपालिकाको केन्द्रसम्म कालोपत्रे सडक पुर्याउनेगरी समझदारी अघि बढेको छ । आइतबार कैलालीको धनगढीमा एक कार्यक्रमको आयोजना गरी प्रादेशिक एवम् स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रम प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष उपस्थिति तथा स्थानीय तहका जनप्रतिनिधिको सहभागितामा शुभारम्भ गरिएको हो ।
सो अवसरमा आइतबार डोटीको बोगटान फुडसिल गाउँपालिकाका तर्फबाट अध्यक्ष कमल गडसिला, नेपाल सरकार र प्रदेश सरकारबिच समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । समझदारी पत्रमा नेपाल सरकारका तर्फबाट स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय सुदूरपश्चिम प्रदेश र प्रदेश सरकारका तर्फबाट यातायात पूर्वाधार निर्देशनालयका निर्देशक प्रेमदत्त भट्टले हस्ताक्षर गर्नु भएको हो ।
समझदारी पत्रमा हस्ताक्षर पश्चात् अध्यक्ष गडसिलाले अब गाउँपालिका दुई तर्फबाट कालोपत्रे सडकसँग जोडने गरी काम अघि बढेको भन्दै खुसी व्यक्त गरे । ‘हामीले गाउँपालिकालाई यसै कार्यकालमा कालोपत्रे सडकले जोड्ने योजना अघि बढाएका थियौँ ।’ उनले भने, ‘हाम्रो त्यो सपना अब पुरा हुने भएको छ । दिपायलदेखि वायलसम्म कालोपत्रेको काम जारी छ । त्यसपश्चात् वायलबाट टुँडा गाडसम्म प्रदेश सरकारले बनाउने सुनिश्चित भइसकेको छ । आजको समझदारी पश्चात् अब हाम्रो गाउँपालिकाको केन्द्रसम्म कालोपत्रे सडक पुर्याउने काम अघि बढ्ने छ ।’ उनले अगाडी थपे, ‘त्यस पश्चात् बाकी रहने सडक फेरी प्रदेश सरकारको समपूरक अनुदान मार्फत बडी केदारको बागछेडासम्म पुगेपछि गाउँपालिका दुई तर्फबाट कालोपत्रेसँग जोडिने छ ।’

कालोपत्रे सडकसँग जोडिन बाँकी रहेका स्थानीय तहलाई कालोपत्रे सडकसँग जोड्ने नीति अनुरूप सरकारले आइतबार एकमुष्ट देशभरका २ सय १० वटा स्थानीय तहसँग उक्त सम्झौता गरेको हो ।

