१० हजार भन्दा बढीलाई कोरोना विरूद्वको खोप दिईयो
सरिता कठायत
डोटी : दोस्रो चरण अन्तरगत डोटीमा १० हजार ५ सय ४४ जनाले कोरोना भाइरस विरूद्वको खोप लगाएका छन । ९ वटै स्थानीय तहमा रहेका स्वास्थ्य संस्थामा जिल्ला अस्पतालबाट कोरोनाको खोप लगाइएको थियोे । स्वास्थ्य कार्यालयले खोपको अभियान फाल्गुन २३ गते देखि चैत्र १ गतेसम्म संचालन गरेको थियोे । खोप ६५ बर्ष भन्दा माथिका मानिसहरूले लगाएका हुन ।
जिल्ला अस्पतालमा कार्यरत निरू मगरका अनुसार दिपायल सिलगढी नगरपालिकामा २ हजार ३ जना, शिखर नगरपालिकामा १ हजार ७ सय १७, पुर्वीचौकी गाउँपालिकामा १ हजार एक सय, आदर्श गाउँपालिकामा १ हजार २ सय ६२ , सायल गाउँपालिकामा ८ सय ९९, के.आई. सिहं गाउँपालिकामा ९ सय ३६, बोगटान फुडसिल गाउँपालिकामा ९ सय एक, बडिकेदार गाउँपालिकामा ७ सय ३३ र जोरायल गाउँपालिकामा ९ सय ९३ गरि १० हजार ५ सय ४४ जनाले दोस्रो चरणको पहिलो लटमा खोप लगाएका हुन । खोपबाट कसैलाई पनि लक्षण देखा नपरेको निरू मगरले बताईन्। ९ वटै स्थानीय तहमा १२ हजार ६ सय जना ६५ बर्ष भन्दा माथिको जनसंख्या छ । खोपबाट बंञ्चित रहेका बाँकीलाई अर्काे लटमा लगाईने जिल्ला स्वास्थ्यमा कार्यरत परिवार नियोजन निरीक्षक सुर्य बिष्टले जानकारी दिनुभयो ।
पहिलो चरणमा भने सरकारले मानिसहरूसंग प्रत्यक्ष सम्पर्कमा आउने स्वास्थ्यकर्मी , बित्तिय संस्थाका प्रमुख, सुरक्षाकर्मि, पत्रकार, कर्मचारी लगायतलाई देशब्यापी खोप लगाएको थियो ।