भागरथी हत्या प्रकरणका आरोपी र मृतकको स्वाबमा भेटिएको डीएनए मिल्यो

भागरथी हत्या प्रकरणका आरोपितको डीएनए मृतकको डीएनएसँग मिलेको छ । केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशाला, सामाखुशीमा गरिएको परीक्षणबाट दिनेश भट्टको डीएनए मृतक भागरथीको भजाइनल स्वाबबाट निकालिएको डीएनएसँग मिलेको पाइएको हो ।

जिल्ला अस्पताल बैतडीमा गरिएको पोष्टमार्टमका क्रममा डीएनए परीक्षणका लागि भजाइनल स्वाब निकालिएको र अहिले स्वाबबाट प्राप्त नमूना मिलेसँगै प्रकरणको अनुसन्धान थप बलियो बनेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता मुकेश सिंहले बताउनु भयो । प्रहरीले घटनामा भट्टको संलग्नता देखिएको भन्दै ४ फागुनमा उनलाई पक्राउ गरेको थियो । उनलाई २६ फागुनमा जिल्ला अदालत, बैतडीले पुर्पक्षका लागि सिलगढीस्थित सुधार गृह पठाउन भनेको थियो । अहिले उनि त्यही सुधार गृहरमा रहेका छन् । बाल सुधार गृहबाट आफ्ना काका र बुवालाई फोन गरेर दिनेशले आफूले भागरथीको हत्या नगरेको बताएका थिए । उनी निर्दोष रहेको भन्दै रिहा गर्नुपर्ने माग परिवारले गर्दैै आएका थिए ।
बैतडीको दोगडाकेदार गाउँपालिका–७ चुडेपानीकी भागरथीको शव २३ माघमा खोचलेक क्षेत्रमा रहेको लवलेक जंगलमा भेटिएको थियो ।
