विद्युत सर्ट हुँदा घरमा आगलागी, १५ लाख बराबरको क्षति
डोटी : एक स्थानियको घरमा आगलागी भएको छ । बुधबार दिउँसो पौने ३ बजेको समयमा जिल्लाको केआईसिंह गाउँँपालिका वडा नम्बर २ मौडाका स्थानिय मीन बहादुर मलासीको घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । आगलागी बाट घरमा भएका नगत, लत्ताकपडा, खाद्यान्न लगाएका सामान जलेर नष्ट हुँदा १५ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय डोटीका सुचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक ईन्द्र बहादुर मल्लले बताउनु भएको छ ।
आफ्नो घरमा आगलागी हुँदा सुन, चादी, नगत रुपैयाँ, घरमा राखिएका नागरिकता, जग्गाको लालपुर्जा, विभिन्न कागजात जलेर नष्ट भएको उहाँले बताउनु भयो । घरमा कोही नभएको समयमा आगलागी भएका कारण मानवीय क्षती भने हुन नपाएको प्रहरीले बताएको छ । आगलागीको एकिन कारण नखुलेको भए पनि विद्युतको तार सर्ट भई आगलागी भएको हुन सक्ने प्रहरीको अनुमान छ ।