चट्याङ्गले उडाएको खुशी  : शोकमा डुवेको देवलगाउँ

Sayalb

रामहरि ओझा / २४ बैशाख, डोटी
बैतडी पञ्चेश्वर गाउँपालिका-६ का देवलका ५० बर्षीय खेमसिंह भण्डारीको परिवार सोमवार साँझ शोकमा डुव्यो । साँझ करीव ६ वजे परेको चट्याङ्गमा खेम सिंहका भाई एवं पञ्चेश्वर गाउँपालिका वडा नं. ६ का वडा सदस्य गोविन्दसिंह भण्डारीको निधनले परिवार मात्रै नभएर टोलमै शोक छायो ।
घटनाको प्रहरीलाईजानकारी भयो, गोविन्द सिंहको शव परीक्षणका लागि जिल्ला सदरमुकाम गोठालापानी लैजानु थियो । भाईको शवबोक्दै गाउँका अन्य नौ जनासंगै खेमसिंह जिल्ला सदरमुकाम तिर लागे । तर उनको यात्रा अन्तै मोडियो ।
भाईको मृत्युले पीडामा परेका खेम आफैले ज्यान गुमाउनु पर्‍यो । वडा सदस्य गोविन्दको शव बोकेर हिडेको से १ ज १८३ नम्बरको जीप मङ्गलबार दिउँसो करीव २ः४५ बजे गणमेश्वरको मोडबाट खस्यो । दुर्घटनामा एउटै टोलका चार जनाको घटनास्थलमै मृत्यु भयो । उक्त घटनामा गम्भिर घाईते भएका खेमसिंहको उपचारकालागि गोठालापानी लैजाने क्रममा बाटोमै मृत्यु भयो ।
शव परीक्षण गराएर भाईको उतै दाहसंस्कार गर्ने भनी आफन्तहरु संगै गएका खेम सिंहको आफ्नै भाईसंग अन्तिम संस्कार भयो । खेम सिंहका दुई छोरा मध्ये एक दुवई र एक दिल्लीमा छन् । उनी छोराहरुलाई समेत मुखनदेखाई यो संसारबाट बिदाभए ।
दुर्घटनापछि देवल गाउँशोकमा डुबेको छ । देवलले एक साथै चट्याङ्गबाट एक र जीप दुर्घटनामा पाँच जना गुमायो । चार जना गम्भिर घाईते छन् । घाईते मदनसिंह भण्डारीको अवस्था गम्भिर रहेको र उनको कैलाली, निशर्ग अस्पतालमा उपचार भईरहेको स्थानीय युवा अनिल भण्डारी वताउँछन् । अनिलका अनुसार थप दुई जनाको कैलालीकै नवजीवन अस्पतालमा र एक जनाको जिल्ला अस्पताल बैतडीमा उपचार भईरहेको छ । उनीहरुको अवस्था भने सामान्य छ ।
मृतक ६जनाकै दशरथचन्द नगरपालिका-१० झुलाघाटमा सामुहिक अन्तिम अन्मित संस्कार गरिएको वडा नं. ६ का वडाध्यक्ष रामसिंह पुजाराले जानकारी दिए ।
एकै पटक ६ जना गुमाउँदा गाउँनै खाली भएको जस्तो लागेको वताउँछन् स्थानीय अनिल भण्डारी । ‘एउटै गाउँका मानिस सोत्तर पार्ने गरेर नसोचेको दुर्घटना भयो’ अनिल भन्छन् ‘वडा सदस्यको पोष्टमार्टम गरेर उतै दाह संस्कार गर्न भनेर गएकाहरु पनि कहिल्यै नफर्किने गरेर गए ।’ गाउँमा अब दुई/तीन जना मात्र युवा रहेको अनिल वताउँछन् । उनी थप्छन् ‘अधिकांश युवा वैदेशिक रोजगारीमा छन् ।’जता हेर्‍यो रुवाबासी र चिच्याहट मात्रै देखिने गरेको अनिल वताउँछन् ।

Shaileshwori
Loading...