संसद बिघटन बिरुद्ध बिपक्षि गठबन्धन भोली अदालत जाने
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधि सभा विघटनविरूद्ध रहेका विपक्षी गठबन्धन भोली सर्वोच्च अदालत जाने भएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भोली बिहान १० बजे रिट लिएर सर्वोच्च अदालत जाने निर्णय भएको जानकारी दिनुभयो ।
प्रधानमन्त्रीको कदम विरुद्ध रहेका सबै सांसदको हस्ताक्षर सङ्कलन भइनसकेकाले आज पेश गर्न खोजिए पनि भोलीलाई सारिएको बताइएको छ । अस्ति शुक्रबार हस्ताक्षर गरेका १ सय ४९ जनाबाहेक अरूले पनि हस्ताक्षर गरेको दावी प्रचण्डको छ । सांसदहरु भोली भौतिक रूपमै अदालतमा उपस्थित हुने जानकारी नेताहरुले दिएका छन् ।
रिटमा एमाले नेता माधव नेपाल पक्षका सांसदले पनि हस्ताक्षर गरेको बताइएको छ । प्रधानमन्त्री ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत शुक्रबार मध्यरातमा संसद विघटन गरेपछि न्याय माग्दै विपक्षी दल अदालत जान लागेका हुन् ।