मानसिक स्वच्छताका लागि धार्मिक अगुवाहरुको भुमिका विषयक तालिम सम्पन्न

डोटी : डोटीमा मानसिक स्वच्छताका लागि धार्मिक अगुवाहरुको भुमिका विषयक सम्बन्धि एकदिने तालिम सम्पन्न भएको छ । शनिवार वर्ल्ड भिजनको सहयोगमा राष्ट्रिय अन्तरधार्मीक सञ्जाल नेपाल (निरन) ले आयोजना गरेको तालिम विभिन्न धार्मिक अगुवाहरुका बिचमा दिपायल स्थिति वर्षा होटलमा सम्पन्न भएको हो ।
समाजमा मानसिक रोग सम्बन्धि विभिन्न समस्याहरु रहेका छन् । त्यस्ता समस्याहरुलाई व्यक्तिहरुले परम्परागत रुपमा मानिदै आएका मान्यताका आधारमा उपचार गर्ने गर्दछन् । ती परम्पराहरु विभिन्न धर्मअनुसार फरक हुन्छन् । धर्मका अगुवाहरुले भनेको धर्मका आस्थावानहरुले मान्ने हुनाले धर्मका अगुवाहरुलाई एकदिने तालिम दिईएको निरन नेपालले बताएको छ । तालिममा मानसिक समस्या अन्तर्गत कस्ता किसिमका समस्या पर्दछन्, ती समस्याहरुको समधान कसरि गर्ने, कहाँ जान सकिन्छ लगायतका कुराहरुमा छलफल गरिएको थियो ।

तालिममा जिल्ला अस्पताल डोटीका डाक्टर तथा मानसिक रोग विशेषज्ञ डा.सुहन कुमार शाहले प्रशिक्षण दिनुभएको थियोे । मानसिक रोग सम्बन्धि परम्परागत कुराहरू एक्कासि नछाडे पनि विस्तारै ती कुराहरुलाई छोड्दै औषधि उपचारका बिधिहरु अपनाउनु पर्ने डाक्टर शाहले बताउनुभयो । तालिममा सिकेका कुराहरुलाई व्यावहारमा उतार्ने र समाजमा पनि लागू गर्ने धार्मिक अगुवाहरूले बताएका छन् ।
जिल्लाका विभिन्न स्थानका धार्मिक अगुवा सहित १६ जनाको सहभागिता रहेको थियोे ।
