राजनीति देश र जनताको निम्ति गरेको हुँ : रावल

प्रेम नेपाली , डोटी
नेपाल कम्युनिस्ट पार्टी ( एमाले ) का केन्द्रीय उपाध्यक्ष डा. भीम बहादुर रावलले आफूले राजनीति देश र जनताको निम्ति गरेको बताएका छन् । राजनीति गर्दा आफ्नो व्यक्तित्व विकास भएको भए पनि तर देश र जनतालाई शिरोपर गरेर आफूले राजनीति गरेको उहाँको भनाई रहेको थियो ।

यदि राजनीति गर्दा देश र जनतालाई बिर्सिने गर्यो भने हामी राजनीतिक दललाई बलियो बनाउन पनि सक्दैनौ र त्यो राजनैतिक दलले जनताका लागि जे काम पूरा गर्नु पर्थ्यो त्यो पनि गर्न नसकिने बताए । गृह जिल्ला अछाम जाने क्रममा डोटीमा केही समयको लागि नेता कार्यकर्ताहरू सङ्ग अनौपचारिक रूपमा भेटघाट गर्दा नेता रावलले पार्टी फुट्नु आफैमा दुःखद भएको तर नेकपा एमाले लाई अझै एकताबद्ध बनाउन १० बुँदे सहमतिको पूर्ण रूपमा कार्यान्वयन गर्न गराउन पनि आफूहरू पार्टी नेतृत्व सङ्ग लागि परेको समेत बताए । साथै पत्रकारहरूले राखेको जिज्ञासामा उहाँले आफूले पार्टी फुटाउन जोड दिएको भन्ने कुरा सरासर गलत भएको बरु आफू पार्टी फुटाउने नभई पार्टी एकतालाई बढी जोड दिएको उहाँको जिकिर थियो । साथै उहाँले माधवकुमार नेपालको पार्टीको विधान मस्यौदा तयार गर्ने आफू रहेको भन्ने कुराको पनि खण्डन गर्दै उक्त हल्लामा कुनै कुराको पनि सत्यता नरहेको बताए ।
नेता रावलले अहिलेको जटिल परिस्थितिमा नेकपा एमाले प्रति चिन्ता ब्यक्तगर्ने सम्पूर्ण नेता कार्यकर्ता तथा शुभचिन्तक हरुले पार्टी एकता प्रक्रियालाई अझै सशक्त बनाउन सबैलाई एकताको सन्देश दिन आग्रह समेत गरेका छन् । साथै अर्को प्रसङ्गमा उहाँले अहिलेको सरकारले ल्याएको दल विभाजन सम्बन्धी अध्यादेशले कुनै पनि दल जुनसुकै बेलामा फुटेर जानसक्ने र दल फुट्नु भनेको नै लोकतन्त्र कमजोर हुने कुराको जिकिर गरे ।
