पहिरो पीडितले प्रधानमन्त्रीलाई भेट्न पाएनन्
कर्ण चन्द कार्तिक ५, डोटी
सुदूरपश्चिम प्रदेशमा बाढी पहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागी गएको प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको टोलीलाई पीडितहरूले नै भेट्न पाएनन् । दिपायल सिलगढी नगरपालिका वडा नं. ७ कोईरेलीमा पहिरोका कारण विस्थापित भएका ५० परिवार प्रधानमन्त्री डोटी आउने जानकारी पाएपछि भोक भोकै दौडिएर नेपाली सेना ५ नं. बाहिनी राजपुरमा पुगेका उनीहरूले भेट गर्न नपाएपछि निराश भएर फर्किएका छन् । पहिरो पीडित विजय बोहराले भने ‘ हामीले तिन देखी राम्रोसँग खाना खान पाएका छैनौँ, प्रधानमन्त्री सहितको टोली आउने जानकारी पाएपछि भोक भोकै त्यहाँ पायौँ तर उहाँले हामीलाई भेट्न दिनु भएन ।’
०६४ सालमा विपद् व्यवस्थापन समिति डोटीले पहिरो प्रभावित कोरेली गाउँ नै सार्नु पर्ने निर्णय गरेको भए पनि कार्यान्वयन भएन् । प्रधानमन्त्री नै निरीक्षणमा आएको बेला आफ्नो समस्या समाधान हुन्छ भन्ने आसा निराशामा परिणत भएको पीडित नरबहादुर विष्ट सुनाए । उनले भने ‘हामी गेटमा कुरी रह्यौँ, जब हेलिकोप्टर उड्यो हामी छाँगाबाट झरेजस्तै भयौँ, सरकार प्रति गरेको आशा भरोसा सकियो ।’ उनले थपे ‘हुन त प्रधानमन्त्री हामी साना मान्छेका कुरा कहाँ सुन्थे तर कुरा सुन्छु र हेर्छ भनेपछि भेटसम्म दिनु पर्थ्यो ।’
डोटीबाट प्रदेशभर भ्रमणको सुरुवात गरेको प्रधानमन्त्री नेतृत्वको टोलीले सुरक्षा निकाय, स्थानीय तहका जनप्रतिनिधिको सेनाको ब्यारेक भित्र राखेर बिफ्रीङ सुनेर निर्देशन दिएर फर्किएको छ । १६ जनाको मृत्यु र एक जना बेपत्ता सहित जनधनको ठुलो क्षति भएको जिल्लाका पीडित भएका मुख्य क्षेत्रमा जानुको सट्टा गेटमै भएका पहिरो पीडितलाई नै भेट्न नपाएपछि उनीहरू झन् दुःखित भएका छन् ।
पहिरो प्रभावित क्षेत्रका नागरिक आएको जानकारी प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको टोललाई जानकारी गराएको भए पनि समय अभावका कारण भेट नहुने जानकारी दिएको दिपायल सिलगढी नगरपालिकाका प्रमुख मञ्जु मलासीले बत्ताइन् । उनले भनिन् ‘ मैले उहाँको टोलीलाई जानकारी गराएको हुँ, समय छैन भन्नु भयो नगरपालिकाको तर्फबाट हामीले ज्ञापन पत्र त बुझायौँ तर पीडितहरूलाई प्रत्यक्ष भेट्ने अवसर जुट्न सकेन ।’ बाढी पहिरो पीडितका लागी आयको टोलीले पीडितले नै भेट नपाएको भन्दै उनीहरूले रुष्टता व्यक्त गरेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको टोलीमा अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’, पर्यटन मन्त्री प्रेमबहादुर आले मगर सहित नेपाली काँग्रेसका नेताहरू सहभागी रहेका थिए ।
डोटीमा १६ को मृत्यु एक बेपत्ता
डोटी जिल्लामा बाढी र पहिरोमा परि मृत्यु हुनेको सङ्ख्या १६ पुगेको छ । जोरायल गाउँपालिकाका घाइते १५ वर्षीय बालक पुष्कर कामीको उपचारका क्रममा मृत्यु भएको जोरायल गाउँपालिकाका उपाध्यक्ष जमुना बोहराले जानकारी दिइन । मृत्यु हुनेमा जोरायल गाउँपालिकामा ७, सायलमा ७, बोगटान फुड्सिल गाउँपालिका र शिखर नगरपालिकामा एक÷एक जनाको मृत्यु भएको छ ।