अपाङ्ग ब्यक्तीको अपमान नभई सम्मान गरेका हौँ : अध्यक्ष ओझा
कर्ण चन्द
डोटी, भदौं १३
जोरायल गाउँपालिकाले अपाङ्ग ब्यक्तीको अपमान नभई सम्मान गरेको गाउँपालिकाका अध्यक्ष दर्गादत्त ओझाले बताउनु भएको छ । गाउँपालिकामा सरुवा भई आएका प्रमुख प्रशासकिय अधिकृत नरेन्द्र सिंह ठगुन्नालाई अपाङ्ग भएका कारण भौगलिक बिकटता भएकोले गाउँपालिकामा काम गर्न असज हुने भन्दै सामान्य प्रशासन मन्त्रालयलाई जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले पत्राचार गरेपछी बिवाद उत्पन्न भएको थियो ।
कामको चाप हुने स्थानीय तहमा काम गर्न अपाङ्ग ब्यक्तीलाई समस्या हुन्छ भनेर उल्टै उहाँको स्वास्थ्यलाई ख्याल गरेर तुलतात्मक कम काम हुने र डाक्टरको सम्पर्कमा बस्ने ठाउँमा सरुवाका लागी मन्त्रालयलाई पत्राचार गरेर अपाङ्ग ब्यक्तीको सम्मान गरेको अध्यक्ष ओझाको दाबी छ । अध्यक्ष ओझाले भन्नुभयो– ‘मैले उहाँलाई अपमान गरेको होईन, भदौं ७ गते उहाँले नै मेरो ढाड कुप्रीने समस्या भएका कारण काम गर्न सक्दीन भनेर मन्त्रालयलाई पत्राचार गर्नुभएको छ, उहाँको मार्कालाई ध्यानमा राखेर मैले पहल गरेको हुँ ।’
डडेल्धुराको आलीताल गाउँपालिकाबाट सरुवा भएका प्रमुख प्रशाकिय अधिकृतले भदौं ७ गते सामान्य प्रशासन मन्त्रालयका सचिबलाई सम्बोदन गर्दै पत्रमा लेखेका छन ‘ म फिजियोथेरापी गर्न तथा फिजिशियन तथा आर्थोपडिक सर्जनको सेवा उपलब्ध हुने ठाउँमा बस्नु पर्ने, शारीरिक रुपमा समेत म अशक्त रहेको, हिंडडुल गर्न नसकिने तथा जाडो हावापानीबाट समेत जोगिनु पर्ने हुँदा जोरायल जान नसक्ने छु ।’
भेटघाट नहुँदै पत्राचार
जोरायल गाउँपालिकाका लागी खटाईएका प्रमुख प्रशासकिय अधिकृत र गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाको प्रमुख र अध्यक्षका हैसियतले भेटसम्म भएको छैन । खटाईएको कार्यालयमा नआएका प्रमुख प्रशासकिय अधिकृत नरेन्द्र सिंह ठगुन्नाले भदौं ७ गते र अध्यक्ष ओझाले भदौं ९ गते मुल आशय समान रहेको पत्र सामान्य प्रशासन मन्त्रालयमा पत्राचार गरेका छन ।
गाउँपालिकामा अध्यक्षसंग मौखिक सोधनी गर्दा सतौँ तहको बिद्यालय निरिक्षकले काम गर्दै गरेको जानकारी दिएपछी आफुले सहजहुने ठाउँमा सरुवा मागेको नरेन्द्र सिंह ठगुन्नाले बताए । केही ब्यक्तीको निहित स्वार्थका कारण जोरायल गाउँपालिकामा मात्र प्रमुख प्रशासकिय अधिकृत फेर्ने कुरा गरेकाले आफुले असन्तुष्टि ब्यक्त गरेको जोरायल गाउँपालिकाका अध्यक्ष ओझाले बताए । प्रमुख प्रशासकिय अधिकृत ठगुन्ना लाई नियमित थेरापी गर्न आबश्यक पर्ने ठाउँमा मात्र बस्न उपयुक्त हुने भनेर मेडिकल बोर्डले पनि सिफारिस गरेको छ ।