
डोटी – विद्यालयको भौतिक संरचना जिर्ण हुदा विद्यार्थी खुल्ला आकास मुनि पढ्न बाध्य भएका छन् ।

जिल्लाको शिखर नगरपालिका वडा नम्बर ३ नकुरालामा पर्ने नकुराला प्राथमिक विद्यालयको भौतिक संरचना जिर्ण हुदा उक्त समस्या आएको हो । कक्षा १ देखि ३ सम्म पढाइ हुने उक्त विद्यालयमा ३ जना शिक्षक छन भने ३० जना विद्यार्थी अध्ययनरत छन् ।

संरचना भत्किएको तिन महिना बितिसक्दा पनि छाना मर्मत हुन सकेको छैन्। स्थानीय सरकार देखि प्रदेश सरकारलाई पटक पटक गुहार्दा पनी आज सम्म कसैले चाँसो नदिदा खुल्ला आकास मुनि अध्ययापन गराउनुपर्ने बाध्यता रहेको उक्त विद्यालयका प्रधानाध्यापक जित सार्कीले बताउनुभएको छ ।


कक्षा कोठामा राखेर पढाउन नसकिने अवस्था भएकोले हावाहुरी, पानी आए विद्यार्थीलाई घरमा पठाउनु पर्ने बाध्यता रहेको प्रधानाध्यापक सार्कीले बताउनु भयो ।

दलित समुदायका बालबालिकाका मात्रै अध्ययन गर्ने उक्त विद्यालयमा अध्यापन गराउने तीन जना शिक्षकहरु मध्ये एक जना निजि स्रोत बाट छन् । स्थानीय सरकारले शिक्षकको पारिश्रमिकको लागि रकम नछुट्याईएकोले र अन्य कुनै पनि स्रोतबाट शिक्षकलाई झण्डै एक वर्ष हुन लाग्दा पनी पारिश्रमिक दिन नसकिएको प्रधानाध्यापक सार्कीले बताउनु भयो ।

अन्यत्र ठाउँमा लाखौंको बजेट हाल्ने सरकारले विद्यार्थीको लागि भने बजेट नछुट्याईएको स्थानीयको गुनासो छ । शिक्षा जस्तो क्षेत्रमा पनी यहाँको स्थानीय सरकारको चाँसो नदिदा यस्तो समस्या त्यहाँका बालबालिकाले भाग्नु परेको छ ।

