
बर्तमान सरकारका चार जना बिना बिभागिय मन्त्रीको दिनचर्या बधाई लिने र धन्यबाद दिने काममै सिमित भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अन्य ३ विभागीय मन्त्री चर्चामा रहेका बेला बिभागिय जिम्मेवारी पाउन नसकेका वर्तमान सरकारका ४ जना मन्त्री भने आफ्न्त, कार्यकर्ता, नेता, कर्मचारी तथा शुभचिन्तकबाट बधाई ग्रहण गर्ने, धन्यबाद दिने र उनिहरुले दिएको सुुझाब ग्रहण गर्ने मै सिमित भएको छ ।
मन्त्रालयको जिम्मेवारी नतोकिएका कारण फुर्सदमा रहेका मन्त्रीहरु आफ्नो सरकारी निवासमा साथीभाइको बधाई थाप्न र सल्लाह सुझाव लिन व्यस्त छन् । नेकपा एमालेबाट मन्त्री भएका ज्वालाकुमारी साह, राजेन्द्र राई र दामोदर भण्डारी र जनमत पार्टीबाट मन्त्री भएका अब्दुल खानले अहिलेसम्म विभागीय मन्त्रालय पाएका छैनन् ।
मंगलबार बिना विभागीय मन्त्रीहरु अब्दुल खान, राजेन्द्र राई आफ्नो सरकारी निवास, पुल्चोकमा साथीभाइको बधाई थापिरहेका थिए । मन्त्री ज्वालाकुमारी साह पार्टीको कार्यक्रममा सहभागी भएकी थिइन् भने मन्त्री दामोदर भण्डारीले सुदूरपश्चिमका विभिन्न क्षेत्रमा काम गर्ने व्यक्तिहरुसँग सो क्षेत्रका लागि के के गर्न सकिन्छ भन्ने बारेमा छलफल गरे ।
बिना विभागीय मन्त्री अब्दुल खान काठमाडौं छोड्ने तयारीमा छन् । उनी जिल्लामा जानका लागि प्रधानमन्त्रीसँग सल्लाह गर्न सिंहदरबार जाने तयारीमा छन् । मन्त्री भएदेखि सरकारी निवास पुल्चोक, पार्टी कार्यालय बुद्धनगर र सिंहदरबारमा रहेको संसदीय दलको कार्यालयमा गएर दिनचर्या बिताएका उनी आफ्नो निर्वाचन क्षेत्रमा जान लागेका हुन् ।
मन्त्री भए यता साथीभाइ, नेता कार्यकर्ताको बधाई लिएर उनको दैनिकी बितिरहेको छ । उनले भने, ‘बधाई, शुभकामना लिने, भेटघाट, छलफल गर्दै आइरहेको छु । विभिन्न जिल्लाबाट कार्यकर्ताहरु भेट्न आइरहनु भएको छ । अध्ययन गर्ने, विभिन्न निकायका सचिव, कर्मचारीसँग छलफल गरेर दिन बितेको छ । सिंहदरबार खासै गएको छैन । कहिले काहीँ दलको कार्यालयमा गइरहेको छु ।’ प्रधानमन्त्रीसँग छलफल गरेर आफ्नो जिल्लातिर जान लागेको उनले बताए ।

रातोपाटी अनलाईनबाट साभार
