
डोटी : गुणस्तरीय शिक्षाका लागि नेपालको शिक्षा नीति परिमार्जित गर्न आवश्यक रहेको बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमल बहादुर गडसिलाले बताउनुभएको छ । अखिल क्रान्तिकारी डोटीको चौथो पूर्ण बैठक तथा स्ववियु विशेष कार्यक्रम एवं शैक्षिक रूपान्तरण मुख पत्र विमोचन कार्यक्रममा माओवादी केन्द्र डोटीका संयोजक समेत रहनुभएका गडसिलाले यस्तो बताउनुभएको हो ।
शिक्षा नीति परिवर्तन गर्नुपर्ने जोड आफूहरूको रहेको उहाँको भनाइ छ । देशमा भएका विभिन्न परिवर्तनहरूमा विद्यार्थीहरूको महत्त्वपूर्ण भूमिका रहेको उहाँको भनाई छ । देशमा सङ्घीयता, समानुपातिक व्यवस्था, आरक्षण कोटा लगायतका व्यवस्था कायम हुनुमा पनि विद्यार्थीको भूमिका रहेको उहाँले बताउनुभयो । आउने स्ववियु चुनावमा साँच्चिकै परिवर्तनको लागि सङ्घर्ष गरिरहेको अखिल क्रान्तिकारी विद्यार्थी सङ्गठनलाई जिताउन उहाँको अनुरोध थियो ।

कार्यक्रममा माओवादी केन्द्रका जिल्ला सचिव डबल बहादुर सिंहले अखिल क्रान्तिकारी अन्य सङ्गठन भन्दा फरक रहेको बताउनुभयो । परिवर्तन गर्न सक्ने विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारी बाहेक अरू हुन नसक्ने उहाँको दाबी थियो । सिंहले विगतमा क्याम्पस स्ववियु सभापति भएकाहरूले आफ्नो व्यक्तित्व विकास गर्न बाहेक क्याम्पसको लागि केही नगरेको आरोप लगाउनुभयो ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) ले विभिन्न निर्णय गर्दै चौथो पूर्ण बैठक सम्पन्न गरेको अध्यक्ष प्रकाश जैशीले जानकारी दिनुभयो । चैत ५ गते सम्पन्न हुने स्ववियु चुनावलाई लक्षित गर्दै बैठकमा विद्यार्थीलाई प्रशिक्षण गराइएको पनि जैशीले बताउनुभयो । शैक्षिक रूपान्तरण मुख पत्र विमोचन गरिनुका साथै डोटी बहुमुखी क्याम्पस डोटीमा शिक्षा संकायका हेमन्त गडसिलाको अध्यक्षतामा ४१ सदस्यीय कमिटी गठन गरिएको छ ।
