
नरेन्द्र बहादुर विक, डोटी
डोटीमा पाँच दिने बाल केन्द्रित सिकाई तालिम सुरु भएको छ । सम विकास केन्द्र (ईडिसि) नेपालको आयोजनामा सुरु भएको तालिममा के.आई.सिंह गाउँपालिका, दिपायल सिलगढी नगरपालिका र शिखर नगरपालिकाका २० जना शिक्षकहरूको सहभागिता रहेको छ ।

स्थानीय परिवेश अनुरूपको शैक्षिक सामग्रीहरू उत्पादन गरी ती सामग्रीहरूको प्रयोगद्वारा कक्षा कोठाहरूमा रमाइलो वातावरण सिर्जना गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको ईडिसिका अध्यक्ष अधिराज बिसीले बताए । पालिकामा स्थानीय तहले पनि शिक्षा क्षेत्रलाई नयाँ स्वरूपको माध्यम बाट लैजान खोजेको र शिक्षा क्षेत्रलाई थप सुधार गर्नको लागी शिक्षक आफैले सक्रिय भएर लाग्नु पर्ने अध्यक्ष बिसीले बताए ।
शिक्षकले मात्रै समुदाय र विद्यालयहरूमा नयाँ ज्ञान दिन सक्ने भएकाले शिक्षकहरूले आफ्नो काम प्रति जिम्मेवार हुनु पर्ने दिपायल सिलगढी नगरपालिकाका प्रमुख बाजी सीँ खड्काले बताए । शिक्षकले समुदाय तथा विद्यालयमा नयाँ कुराको ज्ञान दिने भएकाले शिक्षकलाई गुरु भनिएको प्रमुख खड्काको भनाई छ । शुक्रवार देखि सुरु भएको तालिम ५ दिन सम्म सञ्चालन हुनेछ । राजेन्द्र पोखरेलले सहजीकरण गर्ने तालिमको उद्घाटन कार्यक्रमको सञ्चालन कार्यक्रम अधिकृत रमा भण्डारीले गरेकी थिइन ।
