
मङ्सिर ८, डोटी । डोटीको सायल गाउँपालिकाका अध्यक्ष धर्मराज जोशीले गाउँपालिका मुक्त हलियाका समस्या समाधान गर्न अग्रसर रहेको बताएका छन् । शुक्रवार उपेक्षित समुदाय सशक्तीकरण तथा विकास मञ्च (युएसएसबिएम) डोटीको आयोजनामा सायल–५ दुदिलेगडामा आयोजित बहु सरोकारवाला मञ्च कार्यशाला गोष्ठीमा उनले यस्तो बताएका हुन् ।

मुक्त हलियाका समस्या समाधान गर्न गाउँपालिकाले कार्यविधि पास गरी कार्यान्वयन कार्य अगाडी बढाएको अध्यक्ष जोशीले बताए । उनले भने, यो वर्ष भित्रै हामी मुक्त हलियाको लगत सङ्कलन कार्य अगाडी बढाउने छौँ, सके जति छिटो मुक्त हलियाका समस्या समाधान गर्ने छौँ । अध्यक्ष जोशीले समाजको शत्रु गरिबी भएको बताएका छन् । गरिबीले समाजमा विभिन्न समस्या सिर्जना गर्ने हुनाले पहिला गरिबी हटाउन लाग्नु पर्ने उनको भनाइ छ ।
युएसएसबिएम डोटीको साहस–२ परियोजना अन्तरगत लुथरन विश्व फेडेरेसन नेपालको सहयोगमा आयोजित गोष्ठीका सहभागीले मुक्त हलिया एउटा खाल्डोमा रहे जस्तै अनुभूति हुन गरेको बताए । उनीहरूले दिउसो काम गरेर साझको छाक टार्नु पर्ने स्थिति भएकाले आफूहरूले आधारभूत आवश्यकता समेत पूर्ति गर्न नसकिरहेको बताए । मुक्त हलियाको नाममा कार्यक्रम माथि कार्यक्रम गरिने भए पनि समस्या समाधान हुने गरी काम हुन नसको सहभागीको आरोप छ ।
