किसानका पिडा : २० मिनेटको असिनापानीले बर्खाभरीको मेहनत ध्वस्त

२७ असोज, डोटी । शुक्रवार बिहानसम्म लहलहै झुलेका धानका बाला देखेर खुशी थिईन् गोल्मादेवी महरा । बर्खाभरीको मेहनत फक्रिएको छ, भित्राउने बेला भईसकेछ । उनी बिहानै धान काट्न भन्दै हसियाँ बोकेर खेतमा पुग्छिन् । थोरै धान काटेर सुकाउनलाई पाँजा हाल्छिन् पनि, तर आकाशमा बादल मडारिएको देखेपछि आज नकाट्ने बिचार गर्छिन् र फर्किन्छिन् ।
उनी घरको आँगनमा मात्र के टेकेकी थिईन् हावाहुरीसंगै असिनापानी सुरु भयो । उनको बर्षाभरीको मेहनत छिनभरमै सखाप भयो ।

May be an image of grass
डोटीको शिखर नगरपालिका–८, तिलतालीकि गोल्मादेवी महरा खेतको डिलमा कम्मरमा हात राखेर उभिएकी छिन् । असिनाले दाना झारेपछि पनि ठिङ्ङ उभिएको पराल हेर्दै उनी गहभरी आँशु पार्छिन् । ‘सधैंका बर्ष २० भारी धान फल्थ्यो, यसपाली पनि राम्रै बाला थिए’ गोल्मा भन्छिन् ‘१५/२० मिनेट आएको असिनापानीले यस्तो अवस्था वनायो ।’ ठिङ्ङ उभिएको पराल हेर्छिन्, काटु कि नकाटु हुन्छ उनलाई । मलिन अनुहार वनाउदै उनी थप्छिन् ‘गाईबस्तुलाई खुवाउन त होला भन्ने सोच्छु, तर काँट्ने जाँगरै आउँदैन ।’
उनको खेतसंगै जोडिएको हर्क महराको खेतको हालत पनि उस्तै छ । ‘पाकिसकेको थियो, दुई तीनदिनदेखि बादल आइरहेको हुँदा पानी पर्ने डरले काटेनौँ’ ओठमा पिडादायी मुस्कान ल्याउदै हर्क भन्छन् ‘किसानहरुले लगाएको बाली सक्न त असिना, पानी, खडेरी, जंगली जनावर छदैछन् नि !’
सोही वडाको गोपघाटकी धौलीदेवी बलायर लेदोमा लत्पतिएको धानको मुठा टट्काउदैछिन् । ‘अव यसमा न धान रह्यो, न परालनै हुन्छ’ भन्ने थाह छ उनलाई तर पनि बर्खाभरीको मेहनत हो, त्यत्तिकै कसरी पो छोड्न सक्थिन् र ! अघिल्लो दिन लहलहै झुलेका धान काटेर सुकाउन पाँजा हालेकी थिईन् धौलीले । तर असिनापानीसंगै आएको बाढीले कति बगायो, कति पु¥यो ।

Sayalb


गोल्मा, हर्क र धौलीको मात्रै पिडा होइन यो, शिखर नगरपालिकाका अधिकांश किसानहरुले भोगेको पिडा हो । शुक्रवार बिहान आएको असिना पानी र हावाहुरीले शिखर नगरपालिका, केआई सिंह गाउँपालिकाको केही भाग र आदर्श गाउँपालिकाको केही भागमा क्षति पु¥याएको छ । असिनापानीले काट्न ठिक्क भएका धान, कोदो लगायतका अन्न बालीहरु सखाप बनाएको छ । ‘कतै पाँजा हालेका धान बगायो, कतै कुन्यू पु¥यो’ शिखर नगरपालिका–८ का टेकवहादुर बलायर भन्छन् ‘पाकिसकेका धान असिनाले चुटेर पराल मात्रै बाँकी राखेको छ ।’
अन्न बाली, साग तरकारी धेरै क्ष्ति भएको शिखर–११ का शेरवहादुर रोकाया वताउँछन् । उनी भन्छन् ‘सिमखोलीमा तीन गोरु र चार बाख्रा पनि वगाएको छ ।’ खानेपानीको मुख्य लाईनमा क्षति भएको र बाटोघाटोहरुमा धेरै क्षति भएको उनले जानकारी दिए ।

सोही वडाको तल्लीसातमा असिनापानीसंग आएको हावाहुरीले रुख ढलेर तीन घरमा क्षति पु¥याएको स्थानीय प्रेम कामीले जानकारी दिए । उनका अनुसार स्थानीय खोलामा आएको बाढीले कटान गर्दा बस्तीनै जोखिममा परेको छ । किसानले लगाएको तरकारी बाली सवै नष्ट भएको प्रेम वताउँछन् ।
वडा नं. ११ कै मल्लीसात, किमडा र डौडीखोला, घौसान्न, तोलागडा लगायतका बस्तीहरुमा किसानहरुको अन्नवाली, दलहन बाली र तरकारी बाली नष्ट भएको किसानहरु वताउँछन् ।
शिखर–३, ४ र ६ मा लगायत बिभिन्न ठाउँहरुमा ठुलो क्षति भएको स्थानीयबासीहरु वताउँछन् । यस्तै वडा नं. १ र २, ५, ७, ९ र १० मा पनि आंशिक क्षति भएको छ ।

केआई सिंह राजमार्गको ठाउँठाउँ क्षति
शुक्रवार बिहान असिनापानीसंगै आएको बाढीले केआई सिंह राजमार्ग अन्तरगत समूहगाढदेखि गोल्मागाडसम्म सडकका बिभिन्न ठाउँमा क्षति पु¥याएको छ ।
शिखर नगरपालिका–१, गेरुपानी नजिक माथीबाट लदो बगेर आउँदा सडकलाई क्षति पुगेको छ । यस्तै आली–मुड्भरा भित्री सडक हुँदै आएको बाढीले कालागाड नजिक कल्भर्टमा क्ष्ति पु¥याएको, अडेअवल, तिलताली र गोपघाटका बिभिन्न ठाउँमा क्षति पुगेको छ ।


गोपघाट क्षेत्रमा बाढीसंगै बगेर आएको ढुङ्गा माटोले कल्भर्टहरु जाम हुँदा बाढी खेतमा पसेर खेतलाइ पनि बगर जस्तै वनाईदिएको छ । सडक तत्काल मर्मत गर्नु पर्ने र नालीको पानी निकास हुने यथोचित व्यवस्था गर्नु पर्ने स्थानीयबासीहरुको माग छ । शिखर–८ का मानवहादुर बलायर भन्छन् ‘कल्भर्ट सानो भएका कारण बन्द भएर बाढी खेतमा पस्दा धेरै किसानहरुको खेत बगरमा परिणत भएको छ, यदि कल्भर्टको पानीको सही निकास भएको भए हाम्रो खेत बच्ने थियो ।’

Shaileshwori
Bolpatra
Loading...