
पुस ३, डोटी । नेपाल टेलिभिजनबाट डोटेली भाषामा समाचार प्रसारणको थालनी भएको छ । नेपाल टेलिभिजनको कोहलपुर प्रसारण केन्द्रबाट २०८० साल पुस १ गतेदेखि डोटेली भाषामा समाचार प्रसारणको आरम्भ भएको हो । नेपाल टेलिभिजनमा पहिलो पटक महेन्द्र बमले डोटेली भाषामा समाचार सम्पादन र वाचन गरेर आरम्भ गरेका हुन् ।
राष्ट्रिय प्रसारणलाई सबै समुदायको पहुँचमा पुर्याउने र समावेशी बनाउने राज्यको नीतिअनुरूप कोहलपुर प्रसारण केन्द्रबाट डोटेली भाषामा समाचार प्रसारणको थालनी गरिएको हो । हाल नेपाल टेलिभिजनबाट तामाङ, गुरुङ, एनटिभी कोहलपुरबाट थारु, एनटिभी इटहरीबाट प्रदेश १ को लिम्बु, मधेस प्रदेशको मैथिली भाषालगायतका स्थानीय भाषा भाषीका समाचार प्रसारणमा रहेका छन् ।

रेडियो नेपालमा २०५१ सालदेखि नै भाषा भाषीको समाचार सुरु गरिएको थियो । यस्तै सरकारी स्वामित्वको गोरखापत्र संस्थानले गोरखापत्रमा पनि भाषा भाषी संस्करण प्रकाशनलाई निरन्तरता दिएको छ । त्यसलाई पछ्याउँदै नेपाल टेलिभिजनले पनि समावेशितालाई लागू गर्दै भाषा भाषीको समाचार दिन सुरु गरेको हो ।
’विकासका लागि सञ्चार’ भन्ने मूल नारासहित वि.सं. २०४१ सालमा स्थापना भएको नेपाल टेलिभिजन नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको नेपालको सबैभन्दा ठुलो टेलिभिजन प्रसारण संस्था हो ।
