

प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्वको गरेको एक वर्ष पुगेसँगै मन्त्रिपरिषद्मा सेट नै परिवर्तन गर्ने तयारी गरेका छन् । सत्ता गठबन्धनका शीर्ष नेताहरुसँगको छलफलमार्फत उनी यो निश्कर्षमा पुगेका हुन् ।
प्रधानमन्त्री दाहाललाई क्याविनेटको सेट नै परिवर्तन गरेर जाँदा राम्रो सन्देश जाने र रिजल्ट पनि दिन सकिने गठबन्धनका नेताहरुको सुझाव छ । सत्ता गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि क्याविनेटमा सेट नै परिवर्तन गर्ने पक्षमा उभिएका छन् ।
माधव नेपाल नेतृत्वको नेकपा ९एकीकृत समाजवादी० ले पनि आफ्ना दुवै मन्त्री फिर्ता बोलाउने र उनीहरुको ठाउँमा नयाँ अनुहार पठाउने गृहकार्य गरेको छ । यसअघि वन तथा वातावरण मन्त्रालय र पर्यटन मन्त्रालयको नेतृत्व गरेका प्रेम आलेलाई मन्त्रिपरिषद्मा पठाउनेगरि अध्यक्ष नेपालले गृहकार्य थालेको विश्वस्त सूत्रले जनाएको छ ।
आलेले यसपटक विकास निर्माणसम्बन्धी मन्त्रालयमा गएर काम गर्ने चाहना राखेका छन् । अहिले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको नेतृत्व प्रकाश ज्वालाले गरेका छन् । ज्वालालाई फिर्ता बोलाउँदा उनको ठाउँमा आलेलाई पठाउने तयारी भएको छ ।
आलेलाई भौतिक पूर्वाधार मन्त्रालयको नेतृत्वमा ल्याउनको लागि प्रधानमन्त्री दाहाल पनि सकारात्मक छन् । उता, कांग्रेस सभापति देउवा पनि आलेको नाममा कुनै विमति राख्ने अथवा अड्को थाप्ने पक्षमा छैनन् ।
