एसआर–६ का लागि पहुँच मार्ग निर्माण गर्न प्रदेश सरकार र गाउँपालिकाबिच सम्झौता

पुस १६, डोटी
सेती नदी–६ (एसआर–६) जलाशययुक्त आयोजनाको लागि पहुँच मार्ग निर्माण गर्न प्रदेश सरकारसँग सम्झौता भएको छ । ४५० मेगावाट क्षमताको एसआर–६ आयोजना स्थलसम्म पुग्ने १५ किलोमिटर सडक निर्माण गर्न सुदूरपश्चिम प्रदेश र बोगटान फुड्सिल गाउँपालिका बिच आइतवार सम्झौता भएको हो । पहुँच मार्ग निर्माणका लागि गाउँपालिकासँग सम्झौता गर्न सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश बहादुर देउवा सहितको टोली गाउँपालिका पुगेको हो ।

देशकै महत्त्वपूर्ण मानिएको जलाशययुक्त आयोजना स्थलसम्म पुग्ने पहुँच मार्ग नहुँदा आयोजनाको काम प्रभावित हुन थालेपछि यसअघि मङ्सिर ७ गते प्रदेश सांसद शिव सिंह ओली सहित गाउँपालिकाका अध्यक्ष कमल बहादुर गड्सिलाको टोली मन्त्रालयमा पुगेको थियो । सो दिन पहुँच मार्ग निर्माण गर्न मन्त्रालय र गाउँपालिका बिच समझदारी भएको थियो । सम्झौतापछि अब डोटीको बोगटान फुड्सिल गाउँपालिका–७ खत्याडी देखि मोरासैन आयोजना स्थलसम्मको १५ किलोमिटर सडक प्रदेश सरकार र गाउँपालिकाको संयुक्त लगानीमा निर्माण हुने भएको छ ।
सेती नदी–६ जलाशययुक्त आयोजनाको भारतीय कम्पनी एनएचपिसी लिमिटेडले निर्माण कार्यको जिम्मा पाएको छ । २०७९ भदौ २ गते कम्पनी र नेपालको लगानी बोर्डबिच आयोजना निर्माणको समझदारी भएको थियो । सेती नदी–६ जलाशययुक्त आयोजना डोटी र अछाममा पर्दछ । आयोजनाको विस्तृत अध्ययनको काम सकिएको छ ।
