
पुस २१, डोटी
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले प्रदेश सरकार सुशासन कायम गर्न र भ्रष्ट्राचार नियन्त्रण लागि परेको बताएका छन् ।शनिवार नेपाल प्रेस युनियनले डोटीको दिपायलमा आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्यमन्त्री शाहले सुशासन र भ्रष्ट्राचार विषयमा सम्झौता नहुने बताएका हुन् । ‘सुशासन र भ्रष्ट्राचार विषयमा कसैसँग सम्झौता हुँदैन, मुख्यमन्त्री शाहले भने, चाहे तल्लो तहको कोही मान्छे होस् चाहे शक्तिशाली माथिल्लो तहको पहुँच भएको मान्छे होस् त्यसमा तपाई क्लियर हुन जरुरी छ ।’ तर कोठा भित्र के हुन्छ भन्ने विषयमा सबै चनाखो हुन आवश्यक रहेको उनले बताए ।

मुख्यमन्त्री शाहले प्रदेश संरचना कुनै व्यक्तिले चाहेर नबनेको बताए । प्रदेश संरचना खर्चिलो भयो भन्ने पत्रकारको प्रश्नमा मुख्यमन्त्री शाहले भने, ‘हिजो पनि कुनै न कुनै रूपमा यस्ता किसिमका सरकार निर्माण गर्ने, अधिकार दिने, कार्यान्वयन गर्ने कुराहरू भएका थिए, त्यतापट्टि फर्किएर हेर्नुभयो भने यो कुरा सामान्य देख्नु हुन्छ ।’ उनले प्रदेश संरचना जनताको लागि र जनताले चाहेर निर्माण भएको बताएका छन् ।
