
पुस २४, डोटी ।
डोटीको बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर १ सिमचौरमा डस्टबिनका रूपमा डोकोको प्रयोग हुने गरेको छ । गत वर्षबाट यस क्षेत्रमा बाँस तथा निगालोबाट बनाइएका डोकालाई फोहोर मैला व्यवस्थापनका लागि डस्टबिनका रूपमा प्रयोगमा ल्याइएको हो ।

पछिल्लो समय अत्याधिक प्रयोगमा आउने प्लास्टिकको डस्टबिनको साटो डोको प्रयोग गर्दा वातावरण स्वच्छ रहने वडा अध्यक्ष खेम बहादुर घर्तिमगरले बताउनुभयो । स्थानीय स्तरमा पाइने बाँस तथा निगालोबाट बनाइएका डोकालाई प्रयोग गर्दा बजार क्षेत्रको सरसफाइमा सहयोग पुग्नाका साथै स्थानीय स्रोत साधनले बजार पाउने र रोजगारी समेत बढ्ने उहाँको भनाई छ ।
यसैबिच मङ्गलवार सिमचौर बजार व्यवस्थापन समितिलाई डस्टबिन स्वरूप ३० ओटा डोका हस्तान्तरण गरिएको छ । यूएमएन डोटी र ग्रामीण सामुदायिक विकास केन्द्रको संयुक्त साझेदारीमा सञ्चालित क्लाइमेट परियोजनाअन्तर्गत वडासँगको सहकार्यमा डोका हस्तान्तरण गरिएको हो ।
