
माघ १२, डोटी । उद्योग वाणिज्य सङ्घ डोटीले बैङ्क तथा सङ्घ संस्थासँग अन्तरक्रिया कार्यक्रम गरेको छ । शुक्रवार दिपायलमा होटेल व्यवसायी, निर्माण व्यवसायी, विभिन्न बैकका प्रमुख/प्रतिनिधि, यातायात व्यवसायी लगायतको उपस्थितिमा बैङ्क तथा सङ्घ संस्थासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

उद्योग वाणिज्य सङ्घ डोटीका कोषाध्यक्ष आईजंग कुँवरले बैङ्कहरूले विभेद गरेको बताए । पहाडको जग्गालाई कम र तराईको जग्गालाई बढी मान्यता दिएर बैङ्कहरूले विभेद गरेको हुँदा पहाडको जग्गालाई पनि मान्यता दिएर लगानीको वातावरण सृजना गर्नु पर्ने कुँवरले बताए । व्यवसायी खडक विक्रम शाहीले बैङ्कले दिने ब्याजदरमा एकरूपता हुनुपर्ने बताए । व्यक्ति अनुसार ब्याजदरमा भिन्नता हुनेभएकाले समानता हुनुपर्नेमा बताए ।
कार्यक्रममा बोल्दै नेपाल इन्भेस्टमेन्ट मेघा बैङ्क दिपायलका म्यानेजर नृप बहादुर भण्डारीले भ्यालुटरले भ्यालुलेसन गर्न नमान्दा लगानी गर्न गाह्रो भएको बताए । बैकले विभिन्न कर्जा तथा लगानी स्थानीय स्तरमा लगाएपनी सही सदुपयोग भएन भने लगानी गर्न गाह्रो हुने गरेको उनले बताए । अन्तरक्रियामा बोल्दै ग्लोबल बैङ्क दिपायलका म्यानेजर कविराज भट्टले बैङ्क अनुसार ब्याजदरमा केही फरक हुने गरेको बताए । बैकमा कर्जा लिनु अगाडि सेवा सुविधा अफर लगायतका बारेमा सेवा ग्राहीले बुझ्न आवश्यक रहेको उनले बताए । असल ऋणीलाई बैकले पनि ब्याजदरमा थोरै भए सहुलियत दिने गरेको भट्टले बताए ।
