
सुबास नेपाली
माघ १७, डोटी
डोटीका ग्रामीण भेगबाट वन्यजन्तुको चोरी सिकारी तथा वन क्षेत्र अतिक्रमण बढेको भन्दै डिभिजन बन कार्यालय डोटीले निगरानी बढाउने भएको छ । बुधवार सरोकारवालाहरू सँगको बैठकबाट वन्यजन्तुको चोरी सिकारी तथा वन क्षेत्र अतिक्रमण जस्ता कार्यको न्यूनीकरण गर्न कार्य योजना सहित अघि बढ्ने निर्णय भएको हो ।

जिल्लाका विभिन्न सामुदायिक र सरकारी वनमा रतुवा, मृग, बँदेल, घोरल, कालिज लगायतका वन्यजन्तुको चोरी निकासी हुने गरेको र जिल्लाका केही ठाउँमा बन अतिक्रमण गरी बस्ती बिस्तार गरेका कारण बन विनाश हुँदै गएको छ । त्यसको न्यूनीकरणका लागी जिल्ला स्थित सुरक्षा निकाय तथा सरोकारवालाहरू सँगको समन्वयमा कडाइका साथ निर्णय कार्यान्वयन गरिने डिभिजन बन कार्यालयका डिभिजनल बन अधिकृत गोकुल रिजालले बताए ।
बन फडानी, वन्यजन्तुको चोरी निकासीका साथै बहुमूल्य जडीबुटीको ओसारपसार जस्ता कार्यले पारिस्थितिक प्रणालीमा असर पुर्याउने जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण बहादुर सिंहले बताए । यस्ता समस्यालाई साझा मुद्दाका रूपमा अगाडि बढाउनु पर्ने उनको भनाई छ । यस्ता समस्या समाधान गर्न सबै जिम्मेवार निकायहरूको उत्तिकै भूमिका हुने भएकाले सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नु पर्ने डोटीका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले बताए ।
बन क्षेत्रमा हुने वन्यजन्तु चोरी निकासीका कारण एकातिर वन्यजन्तु लोप हुने खतरा बढेको छ भने अर्कोतर्फ पारिस्थितिक प्रणाली लगायतमा दीर्घकालीन असर पर्ने देखिन्छ । डिभिजन बन कार्यालय डोटीले गरेको निर्णय कार्यान्वयन भए वन्यजन्तु चोरी निकासी, वन अतिक्रमण लगायतका समस्या नियन्त्रणमा सहयोग पुग्ने देखिन्छ ।
