
२७ माघ, डोटी
सुदूरपश्चिम प्रदेश स्वरोजगार विकास कोषको स्वरोजगार कर्जा लगानी कार्यक्रम अन्तर्गत डोटीका २५ जनालाई कर्जा हस्तान्तरण गरिएको छ । शनिवार सिलगढीमा एक कार्यक्रमको आयोजना गरी सूर्यमुखी बहुउद्देश्यीय सहकारी संस्थाको सहकार्यमा कर्जा हस्तान्तरण गरिएको हो । पहिलो किस्ता स्वरूप प्रतिव्यक्ति एक लाखका दरले जनप्रतिनिधि रोहोवरमा २५ लाख हस्तान्तरण गरिएको जिल्ला सहकारी सङ्घ डोटीका अध्यक्ष अमर बहादुर साउदले जानकारी दिए ।

विभिन्न कार्य गर्दै व्यवसायी बन्न चाहनेहरूलाई कर्जा उपलब्ध गराइएको साउदले बताए । कर्जा लिनेहरूले बाख्रा पालन, भैँसी पालन, बङ्गुर पालन, कुखुरा पालन तथा खुद्रा पसल लगायतका व्यवसाय गर्ने छन् । उनीहरूले एक हप्ताभित्र व्यवसायको सुरुवात गर्नुपर्ने छ ।

