
मङ्सिर ६, काठमाडौँ । नेकपा (एमाले) ले जनसभामा ५० हजार कार्यकर्ता उतार्ने भएको छ । विधिको शासन र कानुनी राज्यका पक्षमा जनतालाई जागरूक बनाउने मुख्य उद्देश्यका साथ शुक्रवार आयोजना गर्न लागेको जनसभामा ५० हजार कार्यकर्ता उतार्ने एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्रप्रसाद गौतमले बताए । उनले जनसभाको अन्तिम तयारी पुरा भइसकेको पनि बताएका छन् ।

उनले भने, “त्यसका लागि काठमाडौँ, भक्तपुर र ललितपुर, नगर र गाउँपालिका, जनसङ्गठनको बैठक गरेर पार्टीले आवश्यक जनपरिचालनको योजनालाई कार्यान्वयन गर्ने योजना छ। भोलि चाहिँ लक्षित ५० औँ हजार मानिसलाई सडकमा उतार्ने गरी कार्ययोजना अगाडि बढाएका छौँ ।” उनले ट्राफिक कम तथा पुतलीसडक र लैनचौर मार्ग खुला रहने गरी दरबारमार्गमा सभा हुने जानकारी दिए ।
