कञ्चनपुरमा इँटा प्रहार गरी श्रीमतीले गरिन् श्रीमानको हत्या

Sayalb
मङ्सिर १४, कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका–६ भुराकोटमा एक महिलाले आफ्नै श्रीमानको हत्या गरेको खुलेको छ । आफ्नै घरको ट्वाइलेटमा चिप्लेर मृत अवस्थामा फेला परेका भनिएका ४९ वर्षीय सियाराम रानाको श्रीमतीले हत्या गरेको खुलेको हो ।
हिजो घटनाको खबर पछि घटनास्थलमा खटिएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक भास्कर चन्दको टोलीले घरको ग्यालरीको कुनामा सिरकले छोपी राखिएको अवस्थामा शव फेला परेको थियो । प्रहरीका अनुसार ट्वाइलेट र बाथरुममा हेर्दा लडेको नभई हत्या गरेको अवस्थामा शव फेला परेको हो ।
मृतकको टाउको र तालुको विभिन्न भागमा काटिएको छ । घरभित्र खानतलासी गर्दा कोठा, कुर्सी, टेबल, ढोका लगायत स्थानमा रगतका छिटा देखिएको प्रहरीले बताएको छ । खाटमुनि रगत लागेको इट्टाको आधा भाग समेत फेला परेको छ । कोठामा रहेको दराजभित्र प्लास्टिकको सानो झोलाभित्र पुरुष र महिलाले लगाउने कपडाहरुमासमेत रगत देखा परेको छ ।
सोधपुछको क्रममा मृतकका श्रीमती ४३ वर्षीया जनककुमारी रानाले श्रीमान्–श्रीमतीबिच बिहीबार बिहान झगडा भएको र दिउसो श्रीमान् सुतेको अवस्थामा इँटाले उनको टाउकोमा हानी घटना आफूले घटाएको स्वीकार गरेको प्रहरीले बताएको छ । उनलाई प्रहरीले नियन्त्रणमा लिएर जिल्ला अदालत कञ्चनपुरबाट १० दिनको म्याद थप गरी विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Shaileshwori
Loading...