

मङ्सिर १४, रामेछाप । रामेछापको गोकुलगङ्गा गाउँपालिका–६ फर्पुमा फोर्स गाडी दुर्घटना हुँदा वडा अध्यक्षसहित पाँच जनाको मृत्यु भएको छ । काठमाडौँबाट गोकुलगङ्गा गाउँपालिका वडा नम्बर ३ रस्नालु जाँदै गरेको त्रिवेणी यातायातको ना १ ज ७१२३ नम्बरको फोर्स गाडी दुर्घटना भएको हो ।
रामेछापका प्रमुख जिल्ला अधिकारी राजु पौडेलका अनुसार दुर्घटनामा एक बालकसहित तीन जना घाइते भएका छन् । तीनमध्ये एक जना गम्भीर घाइते छन् । घाइतेको स्थानीय अस्पतालमा उपचार भइराखेको छ ।
दुर्घटनामा परेर गोकुलगङ्गा गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष रामचन्द्र बस्नेतसहित ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डिएसपी प्रदीपकुमार सिंहले जानकारी दिए । उनका अनुसार दुर्घटनामा चालक मन्थली नगरपालिका–१० का ३५ वर्षीय चालक हिराबहादुर कार्की, गोकुलगङ्गा–५ की ३० वर्षीया कविता कार्की र उनकी सात वर्षीया छोरी स्वस्तिका खड्काको मृत्यु भएको छ । मृतक अन्य एक जनाको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।
