आदर्श गाउँपालिकाको आधारभूत अस्पताल सञ्चालनकाे तयारी

Sayalb

२ भाद्र, डोटी । एउटा ठुलो कंक्रिट वालले सुरक्षित गरेको जमिन, जमिनमाथी चिटिक्क परेको दुई तले ठुलो भवन, टाढैबाट टल्किने गरी लगाईएको रङरोगन ।
यो डोटीको आदर्श गाउँपालिकामा निर्मित आधारभूत अस्पतालको भवन हो । गाउँपालिकाको केन्द्र रहेको मौवामा उक्त भवनमा १५ शैयाको आधारभूत अस्पताल सञ्चालन गर्ने तयारी भईरहेको छ । भवन निर्माणका लागि २०८० साल असार २२ गाउँपालिका र निर्माण व्यवसायी कम्पनी रोयल कन्स्ट्रक्सनबीच सम्झौता भएको थियो । सोही महिना २६ गतेदेखि निर्माण कार्य सुरु भएको उक्त भवन गत असार १० गते निर्माण सम्पन्न भएको गाउँपालिकाका सूचना अधिकारी श्रीसान्त ओझाले जानकारी दिए । संघीय सरकारबाट १८ करोड रुपैयाँ र बाँकी गाउँपालिकाबाट गरी कुल २६ करोड ६५ लाख १६ हजार रुपैयाँको लागतमा भवन निर्माण भएको उनले जानकारी दिए ।
सूचना अधिकारी ओझाका अनुसार अस्पताल सञ्चालनका लागि व्यवस्थापकीय तयारी भईरहेको छ । ‘निक साईमा नामक गैरसरकारी संस्थासंग अस्पताल सञ्चालनका लागि साझेदारी भएको छ’ उनले भने ‘आवश्यक जनशक्ति र उपकरणको व्यवस्थापन भईरहेको छ ।’ उनले अस्पताल छिट्टै सञ्चालनमा आउने वताए ।
अस्पतालमा जनरल फिजिसिएन एक जना, मेडिकल अधिकृत दुई जना सहित ३० जना कर्मचारीहरुको दरवन्दी रहने सूचना अधिकारी ओझाले वताए ।
तत्कालीन ग्रामिण समिति (हाल अस्तित्वमा नरहेको) को नाममा रहेको करीव चार रोपनी, ६ आना जग्गामा उक्त भवन निर्माण भएको छ । लामो समयदेखि स्थानीयबासीहरुले अतिक्रमण गरी भोगचलन गर्दै आएको जग्गा अस्पताल वनाउनका लागि खाली गराईएको गाउँपालिकाका अध्यक्ष गणेशवहादुर खड्काले जानकारी दिए । ‘हामीले मालपोत कार्यालयसंग समन्वय गरी गाउँपालिकाको नाममा नामसारी गरेका छौं’ उनले भने ‘सरकारी गज्जामा लगाईएका नौवटा नीजि घर टहरा भत्काएर अस्पतालका लागि भवन निर्माण गरिएको हो ।’ उनी भन्छन् ‘लामो समयदेखि बस्दै आएका व्यक्तिहरुलाई हटाउन अलि बढी समय लागेकाले भवन निर्माण कार्य अलि ढिलो गरी सुरु भएको हो ।’ उनी उक्त जग्गा खाली गराउन निकै समस्या भएको वताउँछन् ।
‘भवन निर्माण भईसकेको छ, अव छिट्टै अस्पताल सञ्चालन हुन्छ’ उनी भन्छन् ‘अस्पताल सञ्चालनका लागि निक साईमन र गाउँपालिकाबीच सम्झौता भई थप प्रक्रिया अगाडि बढिसकेको छ ।’ उनले गाउँपालिकाको केन्द्रमा हाल सञ्चालित स्वास्थ्य चौकीमा एक जना मेडिकल अधिकृत, प्रयोगशाला र एक्स–रे सेवा लगायतका सेवाहरु प्रवाह भईरहेको वताउँदै आधारभूत अस्पताल सञ्चालनमा आएसंगै थप स्वास्थ्य सेवा बिस्तार हुने वताए ।
अस्पताल सञ्चालनमा आएपछि आदर्श संगसंगै सायल गाउँपालिकाका जनतालाई समेत सहज हुने बताउँछिन् गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी रोकाया । उनी भन्छिन् ‘चाँडै सेवा सुरु गर्न आवश्यक उपकरण र जनशक्तिको व्यवस्थापन भइरहेको छ, ।’
डोटी जिल्लाका नौ स्थानीय तहमध्ये हालसम्म पूर्वीचौकी गाउँपालिकाले मात्रै नयाँ भवन निर्माण गरेर आधारभूत अस्पताल सञ्चालनमा ल्याएको छ । तर उक्त अस्पताल पनि जनशक्ति र उपकरणको अभाव झेलिरहेको छ । यस्तै, शिखर नगरपालिकाले अस्पतालको भवन निर्माण कार्य सम्पन्न गरेको भएपनि अस्पताल सञ्चालनमा आउने सकेको छैन ।
सायल, बोगटान फुड्सिल, केआई सिंह, जोरायल र बडीकेदार गाउँपालिकामा २०७८ सालदेखि निर्माणाधीन भवनहरु अल्पत्र अवस्थामा रहेका छन् । यस्तै, दिपायल सिलगढी नगरपालिकाले दिपायलमा निर्माण गर्न लागेको नगर अस्पतालको भवन पनि अल्पत्रै अवस्थामा रहेको छ ।

Shaileshwori
Bolpatra
Loading...