
जेठ १०, डोटी । डोटीको बोगटान फुड्सिल गाउँपालिका रोजगार सेवा केन्द्रको आयोजनामा वैदेशिक रोजगारीबाट फर्किएका युवाहरूलाई लक्षित गर्दै दुई दिने व्यवसाय छनोटसम्बन्धी तालिम सम्पन्न भएको छ । वैदेशिक रोजगारीबाट फर्किएर बेरोजगार रहेका युवाहरूलाई आत्मनिर्भर बनाउन तालिम सञ्चालन गरिएको हो । गाउँपालिकाको सभाहलमा शनिबार सुरु भएको तालिम आज सम्पन भएको हो ।

तालिममा सहभागी युवाहरूलाई नेतृत्व विकास, उद्यमशीलता, व्यवसाय सञ्चालन प्रक्रिया, वित्तीय साक्षरता, कृषि व्यवसाय दर्ता, सञ्चालन र सरकारी अनुदान सम्बन्धी विविध विषयमा जानकारी प्रदान गरिएको थियो । तालिमको प्रमुख प्रशिक्षकको रूपमा अरुण पाठक, योगेन्द्र बोगटी, बाला सीँ कुडमाल र गीता जिसी रहेका थिए ।प्रशिक्षकहरूले व्यवसाय सुरुवात गर्न आवश्यक योजना, स्थानीय स्रोत साधनको उपयोग, बजार पहिचान र अनुदानको लागि आवश्यक प्रक्रिया लगायतका विषयमा सहभागीहरूलाई व्यावहारिक अभ्याससहित सिकाएका थिए ।
गाउँपालिकाका अध्यक्ष कमल बहादुर गड्सिलाले तालिम समापन कार्यक्रममा बोल्दै युवाहरूले सिकेको ज्ञान व्यवहारमा उतारी आत्मनिर्भर बन्नुपर्ने आवश्यकता रहेको बताए । तालिम समापन कार्यक्रममा अध्यक्ष गड्सिला सँगै वडा नं. १, २, ५ र ७ का वडाध्यक्षहरूको उपस्थिति रहेको थियो । तालिममा पालिका भरका २० जना युवाहरूको सहभागिता रहेको थियो ।
