राष्ट्रिय परिचय पत्र बनाउने बढे, कार्यालय समय भन्दापछि पनि सेवा दिइँदै

साउन ८, डोटी । डोटीको बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर ६ गगुडाका महेन्द्र चन्द बुधवार राष्ट्रिय परिचय पत्र बनाउन जिल्ला प्रशासन कार्यालय डोटी पुगे । बिहानको साढे ११ बजे प्रशासन कार्यालय पुगेका उनले त्यति बेला नै परिचय पत्रको प्रक्रिया थाले ।  करिब ५ घण्टाको प्रतीक्षापछि मात्रै परिचयपत्रका लागि चाहिने आवश्यक प्रक्रिया पुरा भयो ।

यस्तै सायल गाउँपालिका वडा नम्बर ६ साउद नाराका लाल साउँद राष्ट्रिय परिचय पत्र बनाउन प्रशासन कार्यालयमा अबेरमा मात्रै पुगे । कार्यालयमा पुग्दा परिचय पत्र बन्ला भन्नेमा विश्वस्त थिए तर बुधवार उनको परिचय पत्र बनेन । अर्को दिन आउन भन्दै फारम भर्ने कर्मचारीले पठाइए । साउँदले भने, “राष्ट्रिय वाणिज्य बैङ्कमा बन्द अवस्थामा रहेको खाता सञ्चालनको लागि सिलगढी आएको हुँ, बैङ्कमा राष्ट्रिय परिचय पत्र नम्बर आवश्यक रहेको कुरा बताइयो अनि प्रशासनमा आए ।” उनले अघि थपे, “यहाँ भिड रहेछ आज नबन्ने भयो यसैका लागि यतै बस्नु पर्ने बाध्यता भयो ।”

आर्थिक वर्ष २०८२/०८२ सुरु भएयता जिल्ला प्रशासन कार्यालय डोटीमा दैनिक राष्ट्रिय परिचय पत्र बनाउनेको सङ्ख्या बढेको छ । सेवाग्राहीको सङ्ख्या बढेसँगै प्रशासन कार्यालयले कार्यालय समय भन्दा केही समय थप गरेर सेवा दिइरहेको जिल्ला प्रशासन कार्यालय डोटीका प्रशासकीय अधिकृत भोज बहादुर ऐडीले बताए । उनले भने, “केही दिन देखि सेवाग्राही बढेका छन्, राष्ट्रिय परिचय पत्र फाटमा दुई जना कर्मचारी हुनुहुन्छ तर सेवाग्राही बढेपछि दुई जना थप गरेर सेवा दिँदै छौ, कार्यालय समय ५ बजेसम्म भए पनि करिब साढे ६ बजेसम्म पनि सेवा प्रवाह भइरहेको छ ।”

Sayalb

साउन एक गते देखी सामाजिक सुरक्षा भत्ता नवीकरण तथा नयाँ बनाउनको लागि नेपाल सरकारको पञ्जिकरण विभागले बायोमेट्रिक सहित राष्ट्रिय परिचय पत्र अनिवार्य गरेसँगै सेवाग्राहीको सङ्ख्यामा वृद्धि भएको प्रशासकीय अधिकृत ऐडीले बताए । सेवाग्राही बढ्नुको अर्को कारण रोजगारीको सिलसिलामा भारत गएकाहरू खेतीपातीको काम गर्न घर फर्किएकाहरू रहेको उनको भनाई छ ।

जिल्ला प्रशासन कार्यालयबाट राष्ट्रिय परिचय पत्र विभागमा दैनिक औसतमा ६० जना मात्रै सेवा लिन आउने गर्थे । दुई दिन देखी कार्यालयमा सेवाग्राहीको भिड बढेको राष्ट्रिय परिचय पत्र विभागका विवरण दर्ता अपरेटर विमलप्रसाद भट्टले बताए । उनले दिएको जानकारी अनुसार बुधवार एक सय ३९ जनाले सेवा लिएका छन् । जसमध्ये एक सय ११ जनाले नयाँ कार्डका लागि बायोमेट्रिक दिएको तथा ७ जनाले कार्ड लिएको र २१ जनाले कार्ड नम्बरको बारेमा जानकारी लिएको भट्टले बताए । यस्तै साउन ६ गते मङ्गलवार नयाँ कार्डको लागि ९७ जना, नौ जना परिचय पत्र कार्ड लिने र २७ जना परिचय पत्र हेर्ने गरी एक सय ३३ जना, साउन ५ गते नयाँ परिचय पत्र बनाउने ९० जना, परिचय पत्र लिने १३ जना गरी एक सय तीन जनाले सेवा लिएका छन् ।

कतिपय सेवाग्राही आवश्यक कागजात बोकेर नआउँदा परिचय पत्र बनाउन समस्या सिर्जना भइरहेको विवरण अपरेटर भट्टले बताए । नागरिकता सँगै विवाह भएकाहरूको हकमा विवाह दर्ता, पति÷पत्नीको मृत्यु भएको हकमा मृत्यु दर्ता लगायतका कागजात आवश्यक पर्ने भएको भए पनि यस्ता कागजात बोकेर नआइदिँदा समस्या हुने गरेको उनको भनाई छ । उनले वडा कार्यालयलाई परिचयपत्रका लागि आवश्यक कागजातको बारेमा जानकारी दिएर सेवाग्राहीलाई प्रशासन कार्यालयमा पठाउन अनुरोध गरेका छन् ।

१२ हजार ५१९ कार्ड प्रशासनमै
राष्ट्रिय परिचय पत्र फाँटले दिएको जानकारी अनुसार जिल्ला प्रशासन कार्यालयमा १२ हजार पाँच सय १९ परिचय पत्र कार्ड थन्किएका छन् । २०८० जेठ मसान्तसम्म जिल्ला प्रशासन कार्यालयमा विवरण दर्ता गरिएका जम्मा १७ हजार तीन सय ३४ कार्ड छापिएर आएकोमा चार हजार आठ सय १५ कार्ड मात्रै वितरण भएको  विवरण अपरेटर भट्टले बताए । वडामै गएर विवरण दर्ता भएका कार्डहरू आउन बाँकी छ । सरकारी कामकाजमा राष्ट्रिय परिचय पत्रको नम्बरले मात्रै काम गर्ने भएपछि कार्ड लिन आउनेको सङ्ख्या कम भएको हुन सक्ने प्रशासन कार्यालयको अनुमान छ ।

Shaileshwori
Loading...