
कात्तिक १२, डोटी । शिक्षिका आत्महत्या प्रकरणमा जिल्ला शिक्षा समन्वय एकाइ डोटीमा कार्यरत विद्यालय निरीक्षक (वि नि) गणेशबहादुर रावल पक्राउ परेका छन् । डोटीको पूर्विचौकी गाउँपालिका–१ घर भई बाजुराको बुढीगंगा नगरपालिका–५ मा रहेको भानोदय माध्यमिक विद्यालयमा निम्न माध्यमिक तह गणित शिक्षकको रूपमा कार्यरत २७ वर्षकी जानकी खड्काको मृत्यु प्रकरणमा रावल अनुसन्धानमा तानिएका हुन् ।
शिक्षिका खड्का मङ्गलवार घरभन्दा ७ सय मिटर तल खोला किनारमा रहेको उत्तिसको बोटमा झुण्डिएरको अवस्थामा फेला परेकी थिइन् । खड्काले आत्महत्या गर्नु पूर्व लेखिएको सुसाइड नोटका आधारमा जिल्ला प्रहरी कार्यालय डोटीमा जाहेरी परेपछि मङ्गलवार नै डोटीकै शिखर नगरपालिका–११ घर भए रावल पक्राउ परेका हुन् ।
रावलविरुद्ध मृतक खड्काका बुबा चक्रबहादुर खड्काले आत्महत्या दुरुत्साहन मुद्दामा प्रहरीमा जाहेरी दिएका थिए । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसन्धान अधिकृत रामचन्द्र जोशीले रावललाई नियन्त्रणमा लिई अनुसन्धान अगाडी बढाइएको बताएका छन् ।
मृतक खड्काले लेखेको सुसाइड नोट

मृतक खड्काले लेखेको सुसाइड नोटमा बिनी रावलको नाम उल्लेख गरिएको छ । रावल दुई ओटा छोराछोरी रहेका डिभोर्सी पुरुष हुन् । विद्यालय निरीक्षक रावलले विवाहका लागि दबाब दिएको पत्रमा उल्लेख छ । विवाहको प्रस्ताव अस्वीकार गरेपछि रावलले मृतकका भाइ प्रदीप खड्कालाई फोन गरेर ज्यान मार्ने धम्की दिएको मृतकका आफन्तले बताएका छन् ।
सुसाइड नोटमा खड्काले गणेश रावल स्वयंले सामाजिक सञ्जालबाट आफूलाई फ्रेन्ड रिक्वेस्ट पठाएर साथी बनाएको उल्लेख छ । तर देख भेट नभएको भनिएको छ । सुसाइड नोटमा लेखिएको छ, ‘गणेश रावलले आफैँ फ्रेन्ड रिक्वेस्ट पठाएको हो । न मैले उसलाई भेटेको छु न देखेको छु । सबै उसका नाटक हुन् मलाई फसाउने ।’
मृतक खड्काले सुसाइड नोटमा आमाबुवाको इज्जत गुमाएर कसैको श्रीमान् र बुवा भइसकेको मान्छेसँग जीवन जिउन नसकिने उल्लेख गरेकी छिन् । ‘मेरो आयु यत्ति नै रहेछ, के गरूँ भाइ ? बाबाआमाको इज्जत गुमाएर, तिमीहरूलाई नराम्रो संस्कार सिकाएर कसैको श्रीमान् र बुवा भइसकेको मान्छेसँग जीवन जिउन सक्दिनँ ।’


