

७ माघ, डोटी . आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि सुदूरपश्चिममा दुई सय १० उम्मेदवार चुनावी मैदानमा होमिएका छन् ।
निर्वाचन आयोगले पहिलो हुने निर्वाचित हुने प्रणाली अन्तर्गत मनोनयन दर्ताका लागि मंगलवारलाई तोकेको थियो । सो अनुसार प्रदेशमा रहेका १६ सिटका लागि १८ महिला र एक सय ९२ पुरुषले उम्मेदवारी दिएका हुन् । १६ निर्वाचन क्षेत्रमध्ये सात क्षेत्रमा महिला उम्मेदवारी परेको छैन ।
सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार कैलाली जिल्लाका पाँच क्षेत्रका लागि ११ महिला सहित ७८ जनाले उम्मेदवारी दिएका छन् । कैलाली क्षेत्र—१ मा तीन महिला र १६ पुरुष गरी १९ जना चुनावी मैदानमा उत्रिएका छन् । यस्तै, कैलाली–२ मा दुई महिला र १४ पुरुष गरी १६ जना, ३ मा दुई महिला सहित ११ जना, ४ मा एक महिला सहित १६ जना र ५ मा तीन महिला सहित १६ जनाले उम्मेदवारी दिएका छन् ।
प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी राजेश चौधरीका अनुसार तीन निर्वाचन क्षेत्र रहेको कञ्चनपुरमा ६ महिला सहित ५५ जनाले उम्मेदवारी दिएका छन् । कञ्चनपुर निर्वाचन क्षेत्र–१ मा चार महिला सहित १९, २ मा एक महिला सहित १९ र ३ मा १ महिला सहित १७ जनाको उम्मेदवारी परेको छ ।
सुदूरपश्चिमका सात पहाडी जिल्लामध्ये दुई निर्वाचन क्षेत्र रहेको एक मात्र जिल्ला अछाममा १७ जनाको उम्मेदवारी परेको छ । अछाम–१ मा ८ र २ मा नौ जनाको उम्मेदवारी परेको हो । यस जिल्लामा कुनै पनि महिलो उम्मेदवारी मनोनयन गरेका छैनन् ।
एक मात्र निर्वाचन क्षेत्र रहेका प्रदेशका ६ जिल्लामध्ये डोटीमा एक महिला सहित नौ जनाको उम्मेदवारी परेको छ । यस्तै, बाजुरामा आठ पुरुष, बझाङमा सात पुरुष, बैतडीमा १२ पुरुष, दार्चुलामा ११ पुरुष र डडेल्धुरामा १३ पुरुषले उम्मेदवारी दिएका छन् ।
