
फागुन २६ , डोटी । डोटीमा माटो खन्ने क्रममा एक किशोरीको मृत्यु भएको छ । जिल्लाको सायल गाउँपालिका–२ ग्वानीकी स्थानीय १६ वर्षकी एलिना सिंहको माटो खन्ने क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार आज(मङ्गलवार) बिहान करिब ९ः४८ बजेतिर सोही ठाउँको गौसिल स्थित माटो खन्ने क्रममा माथिबाट माटो खस्न गई पुरिएर सिंहको घटनास्थलमै मृत्यु भएको हो । घर पोत्नको लागि माटो खन्न गएकी सिंह पुरिएपछि स्थानीयले मृत शव निकालेका थिए ।
घटनाको अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय डोटीबाट प्रहरी निरीक्षक सुवर्ण चन्दको नेतृत्वमा ४ जनाको टोली घटनास्थलतर्फ प्रस्थान गरेको छ ।
