त्रिवेणी सुन्तला बाली आई.पी.एम. कृषक पाठशाला अन्तर्गत कृषक दिवस सम्पन्न

डोटी, असार १३। बडीकेदार गाउँपालिका–४ टिमुट्टामा सञ्चालित श्री त्रिवेणी सुन्तला बाली आई.पी.एम. कृषक पाठशाला अन्तर्गत कृषक दिवस कार्यक्रम मनाएको छ। शुक्रवार समूहका अध्यक्ष तुलाराम जेठाराको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बडीकेदार गाउँपालिकाका उपाध्यक्ष डम्बरी बिष्ट कलेल प्रमुख अतिथिका रूपमा सहभागी थिइन् ।

कार्यक्रममा सुन्तला खेतीको वर्तमान अवस्था, बगैँचा व्यवस्थापन, रोग तथा कीरा नियन्त्रण, उत्पादन वृद्धि, बजार व्यवस्थापन तथा कृषकहरूको आयआर्जन अभिवृद्धिका विषयमा छलफल गरिएको थियो । सहभागी कृषकहरूले पाठशालाबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्दै सुन्तला उत्पादनमा थप वृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

Sayalb

प्रमुख अतिथि डम्बरी बिष्ट कलेलले कृषकहरूको आर्थिक समृद्धिका लागि आधुनिक कृषि प्रविधिको प्रयोग आवश्यक रहेको बताउँदै स्थानीय सरकारले कृषि क्षेत्रको विकासमा आवश्यक सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गरिन् ।

त्यसै गरी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ, डडेल्धुराका प्रमुख पीताम्बर बस्नेतले सुन्तला खेतीको व्यवसायीकरण, उत्पादन वृद्धि र कृषकको क्षमता विकासका लागि कार्यक्रम निरन्तर सञ्चालन हुने जानकारी दिए । कार्यक्रममा टिमुट्टा क्षेत्रका उद्यमी कृषकहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कृषक दिवसले कृषकहरूबिच अनुभव आदानप्रदान, समस्या पहिचान तथा समाधानका उपायबारे साझा छलफल गर्ने अवसर प्रदान गरेको आयोजकले जनाएको छ ।

कार्यक्रममा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ, डडेल्धुराका प्रमुख पीताम्बर बस्नेत, बडीकेदार गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष कर्ण बहादुर जेठारा, कृषि अधिकृत शिला बस्याल, ना.सु. जगदीश तिवारी, वडा नं. ४ का ना.प्रा.स. सुरेन्द्र शाह, कृषि प्राविधिक चेतल भट्ट तथा बालकिसुन चौधरी विशिष्ट अतिथिका रूपमा उपस्थित रहेका थिए ।

Shaileshwori
Loading...