

डोटीको बुडर बजारस्थित भिमदत्त राजमार्गबाट करीव तीन सय मिटर भित्र जाँदा एक सुन्दर संरचना देखिन्छ । रातो रङ्गको कर्कटपाताले छाएको उक्त संरचनालाई चारैतिर घेरबार गरिएको छ । भित्र जानका लागि एउटा फलामे गेट छ, गेटभित्र प्रवेश गर्दा लोभलाग्दा स–सााना गार्डेन, गार्डेनमा चाइनिज दुबोको हरियालीसंगै विभिन्न प्रजातिका फुलहरुको सुगन्ध । चिटिक्कका तीन भवनहरू, पानीका धारा र प्रतिक्षालय ।
डोटीको जोरायल गाउँपालिका–२ बुडरमा निर्माण भएको यो संरचना छतिवन स्वास्थ्य चौकीको हो । क्रेडिटान्स्टाल्ट फ्युर वीडरआउफबाउ (केएफडब्ल्यू) मार्फत जर्मन सरकारको सहयोगमा निर्माण भएको स्वास्थ्य चौकी करीव ३ रोपनीमा फैलिएको छ । एम्बुलेन्स पार्किङको व्यवस्था, आपतकालीन अवस्थामा भेला हुने ठाउँ, पम्प हाउस सहितका संरचनालाई ठाउँ–ठाउँमा बनाईएका गार्डेनहरुले थप सुन्दरता प्रदान गरेको छ ।
छतिवन स्वास्थ्य चौकीका इन्चार्ज शंकरदत्त जोशीका अनुसार यो भवन गत माघ ९ गतेदेखि सञ्चालनमा आएको हो । ‘संरचना राम्रो बनेको छ, अव उपकरणहरुको खाँचो छ’ जोशी भन्छन् ‘स्वास्थ्य उपकरण नहुदा सेवा प्रवाहमा समस्या भईरहेको छ ।’ उनका अनुसार उपकरण र फर्निचर पनि केएफडब्ल्युले दिनेछ तर अलि ढिलो भइरहेको छ ।
दुई महिनाअघि एक सय २० दिनभित्र उपकरण र फर्निचर उपलब्ध गराउने गरी एमइएच कन्सल्टेन्सीसंग सम्झौता भएको जोशीले बताए । ‘सम्झौताको म्याद अझै करीब दुई महिना छ, तबसम्म यि पुरानै उपकरणबाट काम चलाउनु पर्ने अवस्था छ’ जोशीले भने ।
इन्चार्ज जोशी उक्त संरचनाहरु मुख्य रुपमा प्रसुति सेवालाई गुणस्तरीय बनाउनका लागि निर्माण गरिएको बताउँछन् । प्रसुति कक्ष, प्रसुति पश्चात राख्ने वार्ड र स्टाफहरुका लागि निवास पनि निर्माण भएका छन् । उनले छतिवन स्वास्थ्य चौकीबाट बार्षिक करीव ५० जनाले लिने गरेको बताए ।
छतिवन स्वास्थ्य चौकी जोरायल गाउँपालिकाको वडा नं. २ बासीलाई लक्षित गरि स्थापना भएको भएपनि यसले डडेल्धुराको आलिताल गाउँपालिका, कैलालीको चुरे गाउँपालिका र जोरायल गाउँपालिका–१ का बासिन्दाहरुले समेत सेवा लिइरहेका जोशी बताउँछन् । उनी अनुपातमा दैनिक १५ जनाले स्वास्थ्य सेवा लिइरहेको बताउँछन् ।

