कञ्चनपुरमा सशस्त्रका इन्सपेक्टरबाट नेपाल प्रहरीका हवल्दार कुटिए

धनगढीः कञ्चनपुरमा सीमा क्षेत्रमा डिउटीमा खटिएका बेला विवाद हुँदा नेपाल प्रहरीका हवल्दारमाथि कुटपिट भएको छ।
सीमा क्षेत्रमा डिउटीमा खटिएका बेला आपसी विवाद हुँदा बिओपी बैसाखीका सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) कृष्ण अधिकारीले बेलौरीको फटैया प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार लोकेन्द्र खडायतमाथि कुटपिट गरेको प्रहरीले जनाएको छ।

बिहीबार इलाका प्रहरी कार्यालय बेलौरीका प्रमुख प्रहरी निरीक्षक कमलकुमार खड्काले डिउटीमा खटिएका बेला प्रहरी हवल्दार खडायतमाथि कुटपिट भएको बताए। आपसी विवादका क्रममा कुटपिट भएको बुझिएपनि घटनाबारे अनुसन्धान जारी रहेको खड्का बताउँछन्।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले दुवै पक्षबीच जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा छलफल भइरहेको बताउँदै घटनाबारे अनुसन्धान जारी रहेको जनाए।
