नेकपा स्थायी कमिटी आज, दुवै पक्षको आ-आफ्नै रणनीति

काठमाडौं: सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज बस्दैछ।
पार्टी कार्यालय धुम्बाराहीमा बस्ने बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली सहभागी हुने नहुने निश्चित छैन। बैठकमा प्रधानमन्त्री ओलीले बैठकमा पत्र पठाउँदै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिवेदन फिर्ता नलिएसम्म बैठकमा सहभागी नहुने बताएका थिए।

आज बस्ने बैठकमा यसअघि प्रस्तुत भएका दुवै अध्यक्षका प्रतिवेदनमाथि सदस्यहरुले बोल्ने क्रम सुरु हुने बताइएको छ। यद्यपी बैठकमा कुनै एजेण्डा तय नभएको स्थायी कमिटी सदस्यहरुले जनाएका छन्।
प्रचण्ड–नेपाल पक्षले भने प्रधानमन्त्री ओली बैठकमा सहभागी नभएपछि बैठक अघि बढाउने तयारी गरेका छन्।
नेकपाको विधानमा दुवै अध्यक्षको सहमतिमा महासचिवले बैठक बोलाउने र एजेण्डा तय गर्नुपर्ने उल्लेख छ। नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको समस्या स्थायी कमिटीबाट समाधान हुने जनाएका छन्।
सचिवालयदेखि केन्द्रीय कार्यसमितिसम्म अल्पमतमा रहेका ओली संसदीय दलमा भने आफ्नो बहुमत रहेको भन्दै संसदीय दलमा बहुमत पुर्याउने कसरतमा जुटेका छन्। एक हप्ता स्थगित भएको स्थायी कमिटी बैठकको बीचमा प्रधानमन्त्री ओली समूह र प्रचण्ड–नेपाल समूहले गुटको भेलासमेत गरेका छन्।
