
तेजु ओली, डोटी
महाशिवरात्रि पर्व आराध्य देव शिवको पूजाराधना गरी आज डोटीका विभिन्न शिवालयमा मनाइएको छ । शिवरात्रि हरेक वर्षको फागुनकृष्ण चतुर्दशीका दिन मनाइने पर्व हो यस अवसरमा जिल्लाको सदरमुकाम सिलगढीमा रहेको शैलेश्वरी मन्दिर, दिपायल स्थित बासुधारा, सायलको अशुद्वाला, आदर्शको मौवा लगायतका विभिन्न धार्मिक स्थलमा पूजा पाठ तथा स्नान गरेर मनाएको छ ।
यसै अवसरमा सुदूरपश्चिमको पहिचान भनेर चिनिएको देउडा खेल खेलेर दर्शकलाई मनोरञ्जन दिने गरेको मेला ब्याबस्थापन समितिले जनाएको छ । हिन्दु धर्मावलम्बीले आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गएर श्रद्धाभक्तिपूर्वक पूजाराधना गर्दा वर्ष भरिको पाप पखालिने र मनले चाहेको पुरा हुने विश्वास रहेको ज्येष्ठ नागरिक सङ्घ डोटीका अध्यक्ष गोविन्द प्रसाद श्रेष्ठले बताउनुभयो ।

शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायत ग्रन्थमा वर्णित गरेको छ । आज शिवलाई सम्झिँदै शिवको पूजा आराधना गर्नको लागि नेपालको विभिन्न ठाउँदेखि भारत बाट समेत बासुधारामा आउने गरेको पुजारी कुल प्रसाद ओझाले बताउनुभयो । व्रतमध्ये सर्वोत्तम महाशिवरात्रिका दिन आज भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजार्चना गरी व्रत बस्ने र शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् ।
यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसे सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ । बालसुधारामा परम्परागत रूपमा नुहाउने पूजापाठ गर्दै आएको संस्कृति भएकाले अहिले पनि सोही परम्परालाई निरन्तर दिएको स्थानीय चन्द्रा देवी श्रेष्ठले बताउनुभयो । पहिला ढुगा तथा धारालाई पूजा गर्ने गरेको अहिले ठाउँ ठाउँमा मन्दिर बन्दा खुसी लागेको बताउँदै पूजा आजाको लागि पनि सहज भएको भक्तजन कृष्णा बोगटीले बताउनुभयो ।
