
डोटी : डोटी बहुमुखी क्याम्पस डोटीमा आंशिक प्राध्यापकले तालाबन्दी गरेका छन् । समान कामको समान ज्यालाको माग गर्दै उनीहरूले क्याम्पसमा तालाबन्दी गरेका हुन् । क्याम्पस प्रमुखको कार्यालय, लेखा शाखा र प्रशासन शाखामा अनिश्चित कालका लागि तालाबन्दी गरिएको डोटी क्याम्पसका आंशिक प्राध्यापक नरेन्द्र बहादुर साउँदले बताए ।
डोटी क्याम्पसमा अहिले १२ जना आंशिक प्राध्यापक रहेका छन् । त्रिभुवन विश्व विद्यालय आंशिक प्राध्यापक सङ्घको फागुन १७ गतेको निर्णय अनुसार आफूहरूले पनि क्याम्पसमा तालाबन्दी गरेको आंशिक प्राध्यापक सङ्घ डोटी बहुमुखी क्याम्पसका उपाध्यक्ष उपेन्द्र भट्टले बताए ।

क्याम्पसमा कार्यरत सम्पूर्ण आंशिक प्राध्यापकहरूलाई अविलम्ब करार गर्नुपर्ने, श्रम शोषणको अन्त्य गर्नु पर्ने, कोभिड १९ को सङ्कटमा बौद्धिकको ज्याला र राहतको व्यवस्था गर्नु पर्ने लगायतका माग सङ्घले राखेको छ । तालाबन्दी अवधिभर आफूहरूले पठनपाठनका सम्पूर्ण कार्यहरू बहिष्कार गर्ने प्राध्यापक रमेश रोकायाले बताए ।
त्रिभुवन विश्व विद्यालय अन्तर्गत देशभर दुई हजार दुई सय आंशिक प्राध्यापकहरू कार्यरत रहेका छन् ।
