गौतमलाई मन्त्री बन्न संविधान बाधक

काठमाडौं 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता वामदेव गौतम राष्ट्रिय सभाको सदस्य बन्नुहुने लगभग टुंगो लागेको छ । बिहीबार बसेको सचिवालय बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले नै उहाँलाई राष्ट्रिय सभा सदस्यका लागि प्रस्ताव गर्नुभएपछि अन्य नेताहरुले पनि त्यसमा समर्थन जनाइसकेका छन् । यस सवालमा पार्टी नेताहरु एकमत भएसँगै गौतम राष्ट्रिय सभाको सदस्य बन्नुहुने निश्चित जस्तै बनेको हो ।

राष्ट्रिय सभाको सदस्य बन्न्ने पक्कापक्की भएपनि उपाध्यक्ष गौतमलाई मन्त्री बन्न भने संविधान बाधक हुने देखिएको छ । भदौ २० गतेबाट रिक्त हुने राष्ट्रिय सभाका सदस्यको एक पदमा गौतम मनोनित हुनुभयो भने पनि संवैधानिक व्यवस्थाका कारण उहाँ मन्त्री बन्न नपाउने कानूनविदहरु बताउँछन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको वर्तमान अर्थमन्त्री डा. युवराज खतिवडालाई नै राष्ट्रिय सभाको सदस्य बनाएर मन्त्री पदमा निरन्तरता दिने चाहना थियो । तर, नेकपा स्रोतका अनुसार सचिवालय बैठकले गौतमलाई राष्ट्रिय सभामा लैजाने गरी यसअघि नै निर्णय गरिसकेकोले प्रधानमन्त्री ओलीले पनि गौतमको विकल्प खोज्न नमिलेको हो । बिहीबारको बैठकले पनि त्यही निर्णयलाई निरन्तरता दिएको हो ।

Sayalb

यस्तो छ संवैधानिक व्यवस्था
नेकपाका उपाध्यक्ष वामदेव गौतम राष्ट्रिय सभाको सदस्य हुने भएपनि मन्त्री बन्न नपाइने भएको छ । तत्काल कायम रहेको प्रतिनिधिसभाको निर्वाचनमा पराजित भएको व्यक्ति सो सभाको कार्यकालभर मन्त्री हुन नपाउने संवैधानिक व्यवस्थाका कारण वामदेव गौतम मन्त्री बन्न नपाउने हुनुभएको हो । गौतम प्रतिनिधि सभाको गत निर्वाचनताका बर्दियाबाट नेपाली कांग्रेसका उम्मेद्वारसँग पराजित हुनुभएको थियो ।

तर संघीय संसद्को सदस्य नभएको व्यक्ति पनि नेपालको संविधानको धारा ७८ (१) बमोजिम मन्त्री हुन सक्ने व्यवस्थाका कारण डा.युवराज खतिवडाजस्तै अपवादको रुपमा ६ महिनाका लागि भने गौतम मन्त्री बन्न सक्ने देखिन्छ । यस्तो अपवादबाहेक मन्त्री हुनको लागि कि त प्रतिनिधि सभाको कि त राष्ट्रिय सभाको सदस्य हुनैपर्दछ ।

संविधानको धारा ७८ को उपधारा (४) मा उल्लेख भए अनुसार – ‘उपधारा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि तत्काल कायम रहेको प्रतिनिधिसभाको निर्वाचनमा पराजित भएको व्यक्ति त्यस्तो प्रतिनिधिसभाको कार्यकालमा उपधारा (१) बमोजिम मन्त्री पदका लागि योग्य हुनेछैन ।’ कानुनविद डा. चन्द्रकान्त ज्ञवाली भन्छन्, ‘ निर्वाचनमा पराजित भएका कारण नेता गौतमको हकमा पनि संविधानको धारा ७८ को उपधारा (४) लागू ु हुन्छ, यसकारण उहाँ मन्त्री बन्न पाउने सम्भावना छैन ।’

पछिल्लो समय नेता गौतमले आफूलाई राष्ट्रिय सभाको सदस्य बनाउनुपर्ने र त्यसपछि उपप्रधानमन्त्री तथा अर्थ मन्त्रीको कार्यभारसमेत दिनुपर्ने भन्दै प्रधानमन्त्री ओलीसँग सल्लाह गरिरहेको बताइन्छ । तर कानूनविदहरु भने गौतम राष्ट्रिय सभाको सदस्य भइहाले पनि मन्त्री बन्न संविधान बाधक रहेको बताउँछन् । उहाँ यो प्रतिनिधिसभाको कार्यकालभर मन्त्री बन्न नसक्ने पनि कानूनविदहरु ठोकुवा गर्दै आइरहेका छन् ।

https://www.janatasamachar.com/ बाट

Shaileshwori
Loading...